स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारी सम्हालेका छन । सोमबार सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।
मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यसलगत्तै ११ बजेर १५ मिनेटमा उनले पदभार ग्रहण गरेका छन् ।
धनगढी उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन् ।
सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७६–०८ देखि २०८३–०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका रुपमा रहने) बनाई कार्यान्वयनमा लैजाने सो निर्णयमा भनिएको छ ।
निर्णय पुस्तिकामा भनिएको छ, ‘स्थानीय सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गर्न आवश्यक प्रक्रियागत कानून चालु आर्थिक वर्षमा अगाडि बढाउन र यसको लागि बजेट विनियोजन भैसकेकोले सो कार्य गर्नु मनासिवदेखि आवश्यक निर्णयार्थ पेस गरेको छु।’
Discussion about this post