Khabar Samachar

काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन

222
VIEWS

काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।

श्रेष्ठले निवेदनमा उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न माग गरेका हुन्।

‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसंकेत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मतसंकेतलाई समेत बदर गरी गणना गरेको र यसबाट मतपरिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ,’ श्रेष्ठले निवेदनमा भनेका छन्, ‘तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुनेगरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल दोहोर्‍याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ।’

काठमाडौं महानगरपालिकामा उपमेयर पदमा ठूलो संख्यामा मत बदर भएको छ। श्रेष्ठले कुराकानीमा अहिले बदर भएका मध्ये ५० प्रतिशत मतसंकेत गर्दा रुख र कलम दुबैमा छाप लगाइएको बताए। त्यसलाई आफ्नो मत मान्नुपर्ने उनको तर्क छ। जारी मतगणनामा उपमेयर उम्मेदवार एमालेकी सुनिता डंगोलले ४४७०५ मत ल्याएकी छन् भने रामेश्वर श्रेष्ठले १५६७० मत ल्याएका छन्।

काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना दोहोर्‍याएर गर्न माग गर्दै निवेदन आएको पुष्टि गरे।

‘उहाँले दोहोर्‍याएर मतगणना भनेपनि सैद्धान्तिक विषय उठाउनु भएको छ। एउटा उम्मेदवार नभएको चिन्ह र उम्मेदवार भएको अर्को चिन्हमा छाप लगाइएको अवस्थामा मत सदर हुनपर्छ भन्ने उहाँको कुरा छ,’ खतिवडाले भने, ‘हामीले निर्वाचन आयोगको निर्देशन र स्थानीय तह निर्वाचन निर्देशिका पछ्याउने हो। निर्देशिकामा एउटामात्र उम्मेदवार चयन हुने पदमा दुईवटा मत संकेत भएको छ भने उम्मेदवार भएको वा नभएको जुनमा संकेत भएपनि बदर गर्ने भनिएको छ। सोही अनुसार हामीले मतगणना गरेका हौं।’

‘अब निवेदन आएपछि हामी निर्णय दिन्छौं नै,’ खतिवडाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित