Khabar Samachar

विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

214
VIEWS

काठमाडौं । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुदाँ मृत्यु भएका १० जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका आइपुगेको छ । आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुदाँ उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव सोमबार साँझ काठमाडौँमा ल्याइएको हो ।

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं आइपुगेको र ती शवहरु अस्पतालतर्फ पठाइएको छ ।

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि सम्भवतः भोलि सोमबार पोखरा ल्याइने तर त्यहाँबाट काठमाडौँ ल्याइने उद्धार टोलीले जनाएको छ ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार विहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

पोखराबाट आइतबार बिहान ९ :५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित