Khabar Samachar

भोलिदेखि देशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा

200
VIEWS

वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।

पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।

यसबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरिने संघका अध्यक्ष योगराज कंडेल शर्माले जानकारी दिए ।

‘बाध्यात्मक रूपमा यस संघसंग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९।०३।०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघको विज्ञप्तिमा भनिएको छ।

सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ। अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन्।

‘बिहान पहिलो उडान सबैले एकैपटक गर्दा ट्राफिक जाम, होल्डिङमा बस्नुपर्ने जस्ता समस्या भयो,’ सिटौलाले भने, ‘उता बाहिरका विमानस्थलको क्षमता भने प्रयोगमा आउन सकेन।’

उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो।

प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ।

प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई तोकिएको आधार विमानस्थलमा रात्रिकालीन पार्किङका लागि सोमबार निर्देशन दिइएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिकप्टरको हकमा आज मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो नियम लागू हुँदैछ।

आइतबारबाट प्रभु हेलिकप्टरका ६ वटै जहाज पोखरा विमानस्थलमा रात्रिकालीन पार्किङका लागि पुग्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

त्यस्तै श्री एयरलाइन्सका ८ वटा हेलिकप्टरमध्ये ३ वटा बाहिर बास बस्न पुग्नु पर्नेछ।

नेपालगन्ज विमानस्थलमा सिम्रिक एयरका ५ वटै हेलिकप्टर पार्किङका लागि पुग्नु पर्नेछ।

एयर डाइनेस्टीका दुई वटा, फिस्टेलका दुई वटा हेलिकप्टरले काठमाडौंबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्नुपर्ने विमानस्थलका प्रवक्ता सिटौलाले जानकारी दिए। उनका अनुसार अल्टिच्यड, हे लिएभरेस्ट, मनाङ, माउन्टेन, कैलाश र मुस्ताङ कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी आधार तोकिएको छ।

त्यस्तै असार १३ गतेबाट लागू हुने गरी जहाज कम्पनीहरूलाई काठमाडौं बाहिरका विमानस्थलमा आधार तोकिएको छ। हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्ने प्रवक्ता सिटौला बताउँछन्।

‘जम्मा सञ्चालनमा रहेका जहाजमध्ये एक तिहाइ काठमाडौं विमानस्थलमा र दुइ तिहाइलाई बाहिरका लागि बेस तोकिएको छ,’ उनले भने।

जसअनुसार बुद्ध एयरका सञ्चालनमा रहेका १६ जहाजमध्ये छ वटा, यतीका पाँचमध्ये तीन वटा, श्री एयरका आठमध्ये छ वटा बाहिर जानु पर्नेछ। त्यस्तै सौर्यका तीनमध्ये दुई वटा, समिटका चारमध्ये तीन वटा, ताराका तीनमध्ये दुई वटा जहाज बाहिर रात्रिकालीन पार्किङका लागि पुग्नु पर्नेछ।

सीता एयरका चारमध्ये तीन वटा, गुणका सातमध्ये पाँच वटा र नेपाल एयरलाइन्सका सञ्चालनमा रहेका दुई वटा ट्विनअटरमध्ये एउटाले उपत्यका बाहिरबाट पहिलो उडान गर्नु पर्नेछ।

एयरलाइन्सहरू काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने सिटौलाले जानकारी दिए।

मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्नेलगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित