Khabar Samachar

Search
Close this search box.

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित

210
VIEWS

भारतको बेंगलुरुमा सुरू दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले खराब सुरूवात गरेको छ।

उद्‌घाटन खेलमा नेपालमाथि आमन्त्रित टिम कुवेतले ३-१ गोलको जित निकालेको छ।

पहिलो हाफमा २-० गोलको अग्रता लिएको कुवेतले दोस्रो हाफमा एक गोल थपेको थियो। नेपालका लागि दोस्रो हाफमा अन्जन विष्टले गोल गरे।

खेलको २३औं मिनेटमा कुवेतले अग्रता लियो। कुवेतका लागि कप्तान खालिद हाजियाले गोल गरे।

कर्नर बललाई नेपाली डिफेन्डरले क्लियर गर्न नसक्दा खालिदले हेडमार्फत् बललाई जाली चुमाए।

कुवेतले ४२औं मिनेटमा अग्रता दोब्बर पार्‍यो। अलखालिदले डिबक्सभित्र प्राप्त अवसरमा नेपाली डिफेन्डर विमल पाण्डेको रोक्ने प्रयास विफल पार्दै उत्कृष्ट फिनिसिङ गरे।

पहिलो  हाफमा नेपालका लागि अन्जन विष्टले डिबक्स भित्र मौका पाए पनि फिनिसिङ गर्न सकेनन्।

कुवेतले पहिलो हाफमा नेपाली पोस्टमा दबाब दिएपछि नेपाली डिफेन्डर व्यस्त बनेका थिए।

खेलको ६५औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत् तेस्रो गोल गर्‍यो। अनन्त तामाङले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा कुवेतका मोहमद अब्दुल्लाहले गोल गरे।

नेपालले ६८औं मिनेटमा गोल गर्न सफल भयो। कुवेतका डिफेन्डरले हेड बल क्लियर गर्न नसकेपछि प्राप्त अवसरमा नेपालका अन्जन विष्टले उत्कृष्ट फिनिसिङ गरे।

अन्जनको यो नेपालका लागि १२औं अन्तर्राष्ट्रिय गोल हो। नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका अन्जन कीर्तिमान बराबरी गर्नबाट एक गोल टाढा छन्। नेपालका लागि सर्वाधिक गोलको रेकर्ड बनाएका हरि खड्का र निराजन रायमाझीले १३-१३ गोल गरेका थिए।

नेपालले अब दोस्रो खेलमा असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्।

दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ।

च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।

श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो।

सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित