अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई संसद्मा बोल्न नदिने पार्टीको अडान प्रष्ट रहेको बताएका छन्।
नेकपा माओवादीले एमालेसँग छलफल गर्ने भन्ने निर्णय गरेको आफूहरुले सञ्चारमाध्यममा सुने पनि कुनै छलफल नभएको उनले बताए।‘वार्ता भए पनि नेतृत्व तहमा मात्रै हुन्छ। हामी अर्थमन्त्रीसँग संवाद गर्ने कुरा नै भएन,’ उनले भने, ‘हामी अर्थमन्त्रीलाई संसद्मा बोल्न भने दिँदैनौं।’
यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमालेसँग सल्लाह गरेर अघि बढ्ने निर्णय गरेको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको र सीसीटीभी फुटेजसमेत डिलिट भएपछि नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।
Discussion about this post