Khabar Samachar

कांग्रेस सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरीसहित ३ नेता ‘निलम्बित’

256
VIEWS

नेपाली कांग्रेसको बारा जिल्लाले खानेपानी तथा सरसफाइ मन्त्रीसमेत रहेका केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरीसहित तीनजना नेतामाथि अनुशासनको कारवाही सिफारिस गरेको छ ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा अन्तरघात आरोप लागेपछि खानेपानी मन्त्री उमाकान्त चौधरीलाई नेपाली कांग्रेस बारा जिल्ला अनुशासन समितिले निलम्बन गरेको छ।

पार्टीका सहमहामन्त्रीसमेत रहेका चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासन समितिका संयोजक अरुणकुमार यादवले निलम्बन गरेका हुन्।

अनुशासन समितिका संयोजक यादव अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरनिकट हुन्। बारामा चौधरी र मन्सुर गुटबीच प्रतिष्ठाको लडाइँ चलिरहेको छ।

बारा क्षेत्र नं.१ का सांसदसमेत रहेका चौधरीलाई वैशाख ३० को स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोप लागेको थियो।

चौधरीसँगै पूर्व सांसद एवम् कांग्रेसका महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का सभापति रामप्रवेश प्रसाद यादवलाई पनि निलम्बन गरिएको छ।

बारामा कांग्रेसका दुई वटा समिति नै क्रियाशील भएको अवस्थामा दुवैले एकअर्का पक्षका नेता कार्यकर्तामाथि कारबाही अभियान चलाएका हुन्।

स्थानीय निर्वाचनमा कांग्रेसकै उम्मेदवार हराउन भूमिका खेलेको आरोप लागेपछि उनीहरुमाथि एउटा समूहले कारबाही चलाएको हो।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवम् खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्य नरहने गरि निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूण कुमार यादवले बताए ।

संयोजक यादवका अनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवविरूद्ध लागि लोसपाका उम्मेदवारको पक्षमा मत मागेको, पूर्व सभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकाका उम्मेदवार उपेन्द्र प्रसाद यादवको विरूद्धमा लागि जसपाका उम्मेदवारको क्याम्पमै गएर मत मांगेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको हो ।

उनीहरुमाथि निलम्बन गरिएको पत्र पार्टीको केन्द्रीय अनुशासन समितिमा पठाइएको छ। तर यसअघि बसेको कांग्रेस केन्द्रीय कार्य समितिले भने मंसिरको चुनावसम्म कसैले कसैलाई पनि कारबाही नचलाउने समझदारी गरेको थियो।

बारामा कांग्रेसका दुई गुटबीच लामो समयदेखि मारामार चलेको छ। शेरबहादुर देउवानिकट सहमहामन्त्री फरमुल्लाह मन्सुरले एउटा र चौधरीले अर्को गुट चलाउँछन्।

यसअघि चौधरी समूहले मन्सुरनिकट शम्भुबहादुर बुढाथोकीलाई कारबाही चलाएको थियो।

बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) को उम्मेदवारका लागि सिफारिस महाधिवेशन प्रतिनिधि बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएपछि मन्सुर समूहले जवाफी कारबाही चलाएको हो।

चौधरी यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहमा देउवा सरकारमा मन्त्री बनेका हुन्। दुई नेताबीचको प्रतिष्ठाको लडाइँका कारण संघीय र प्रदेशसभा निर्वाचनका दुवै समूहले अलग अलग उम्मेदवार सिफारिस गरेका थिए।

यसअघि चौधरी समूहले पनि मन्सुर समूहलाई निलम्बन गरेको पत्र सार्वजनिक भएको थियो। कांग्रेस केन्द्रमा अहिले कृष्णप्रसाद सिटौला देउवा समूहमा मिसिए पनि जिल्लामा भने अलग अलग गुट चलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित