अन्तराष्ट्रिय पानी दिवस र नेपाल

201
VIEWS

डा.अर्जुन कुमार खड्का

पानी जीवनको सबै भन्दा अपरिहार्य तत्व हो । कुनै पनि प्राणी पानी बिना वाँच्न सक्दैन, किन की पानी जीवन र आत्मासँग सम्बन्धित छ । पृथ्वीमा रहेका सबै मानिसलाई पिउने तथा  दैनिक सरसफाई गर्ने जस्ता विभिन्न प्रयोजनका लागि पानी चाहिन्छ । वास्तवमा पानी जीवनको लागि आवश्यक छ । यसर्थ, पानी परिस्थिति श्रृंखलाको एक अन्तनिर्हित वस्तु हो । जसमा सबै जीवन निर्वाह प्रणाली निर्भर रहन्छ । यिनै कुराहरुलाई मध्यनजर गर्दै सन् १९९८ देखि हरेक बर्ष २२ मार्चमा मनाइने अन्तराष्ट्रिय पानी दिवसले स्वच्छ खानेपानीमा पहुँचको मूल्यलाई अधिकारको रुपमा बुझदै स्वच्छ खानेपानीमा पहुँच र सरसफाई तथा यसको सुधारका लागि गरिएका प्रयासहरुको मूल्यांकन गर्दै सबैका लागि स्वच्छ पानीको महत्वलाई बोध गराएको अवस्था छ । संसारभर उत्सवको रुपमा आयोजना गर्ने अन्तराष्ट्रिय पानी दिवसलाई नेपालले पनि विगत धेरै बर्ष अगाडिदेखि नै मनाउँदै आएको अवस्था छ ।

आर्थिक, सामाजिक तथा सस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय अभिसन्धि, १९६६ को धारा १८ अन्तर्गत गठित परिषद्ले संयुक्त राष्ट्र संघको २९ औ अधिवेशमा सोही अभिसन्धिको धारा ११ र १२ लाई पुनः परिभाषित गरेर खानेपानीलाई मानव अधिकारको रुपमा स्वीकार गरेको अवस्था छ भनी सन् १९८० को दशकलाई अन्तराष्ट्रिय खानेपानी सम्बन्धी दशकको रुपमा द्योषणा गर्न विश्व स्वास्थ्य संगठनको सक्रियामा प्रस्ताव पारित भएको थियो । तथापि अझै पनि संयुक्त राष्ट्र संघको तथ्यांक अनुरुप विश्वभर करीब एक अरब भन्दा बढी मानिस स्वच्छ खानेपानीको अभावमा रहेको कारण बाटै अन्तराष्ट्रिय स्तरमा समेत दिगो विकास लक्ष्यले खानेपानी सम्बन्धी कार्यलाई मुख्य एजेन्डा निर्धारण गरी विभिन्न कार्यक्रम संचालन गदै आएको अवस्था छ । यसैले अन्तराष्ट्रिय खानेपानी दिवसको महत्व रहेको छ । नेपालको सन्दर्भ हेर्ने हो भनी करीब पच्चीस लाख मानिसहरुलाई खानेपानीको पहुँच नरहेको र करीब एक करोड पचास हजार जति जनसंख्या सरसफाईबाट वञ्चित रहेको तथ्याँकले देखाउँछ ।

“भूमिगतः अदृश्यलाई दृश्य बनाउने” यस बर्षको अन्तराष्ट्रिय पानी दिवसको नारा रहेको छ । वास्तवमा, अन्तराष्ट्रिय पानी दिवसले पानीको सहयोग र आवश्यक कार्यहरुको बारेमा सहमति निर्माण गर्न तथा पानीको अधिकार अभिवृद्दि गर्न मद्दत गर्छ । यसको अलावा पानीसँग सम्बन्धित विभिन्न आयम तथा क्रस कटिंग विषयहरुलाई समेत उजागर गर्न सहयोग पुन्याउँछ । यसैले पानीको व्यवस्थापन गर्दा धेरै तह तथा क्षेत्रहरुमा ध्यान दिनु पर्ने आवश्यक रहन्छ । उदाहरणका लागि हिन्दू धर्माका मनुले ब्रम्हाण्डको उत्पत्ति वर्णन गरे र आफ्नै शरीरबाट विभिन्न प्रकारका जीवहरु उत्सर्जन गर्न चाहन्थे । त्यस मध्ये पानीको उत्सर्जन पहिलो पटक गरेका  थिए । बाइबल सृष्टि कथामा शुरुमा पानी र पानीको अनुहारमा उत्प्रेरित असल भावना शुरुका केही पदहरुमा तीन पटक उल्लेख गरिएको छ । यो अवधारणाले पानीलाई एक तत्वको रुपमा र जीवनको स्रोतको आदर गर्दछ । यसै गरी घाँस, पानी आगो गरी तीन कार्यका सन्दर्भमा मुस्लिम धर्मको साझा हिस्सा छ । यसै हुनाले पानीलाई सामुदायिक स्रोतको रुपमा जोड दिएको छ । जसमा धनी वा गरिब सबैको अधिकार छ । यी कुराबाट के देखिन आउँछ भनी पानी धर्मसँग पनि सम्बन्धित छ । यस्तो अवस्था रह्दा रहदै पनि पानीको स्वामित्व सामान्यतया अपरिभाषित रुपमा नै रहेको छ ।

मानव सभ्यताको शुरुवातको अवस्थामा खानेपानीको अधिकार प्रथागत अभ्यासबाट विकसित भएको हो । पानीको हक अधिकारको विषय समेत कतिपय अवस्थामा प्रथा तथा व्यवहारमा नै निर्भर रहेको कुरा नेपाल लगायत धेरै अन्य मुलुकमा रहेको पाइन्छ, जस्तै पाकिस्तानमा प्रथागत रुपमा नै पानी व्यवस्थापनमा जोड दिएको अवस्था देखिन्छ । नेपालको सन्दर्भमा मुलुकी ऐन जुन नेपालको पहिलो कानूनी दस्तावेज हो । यसमा पानी सम्बन्धी विषयलाई परम्परागत अभ्यासद्दारा निर्देशित गरिएको थियो । यस बाहेक नेपालको विद्यमान कानूनी व्यवस्थाले पनि पानीलाई प्राकृतिक स्रोतको रुपमा हेर्छ र यसको स्वामित्व राज्यमा निहित गर्दछ । जनताको सुविधा र आर्थिक लाभलाई यसको औचित्यका रुपमा हेर्दा राज्यले राष्ट्रिय स्रोतको रुपमा पानीको संरक्षण, सम्वर्धन तथा व्यवस्थापनमा आफ्नो भूमिका बढाउँदै लगेको छ । उदाहरणका लागि जलस्रोत ऐन २०४९ को दफा ३ ले नेपालमा उपलब्ध जलस्रोतको स्वामित्व राज्यमा निहित हुने कुरामा जोड दिएको छ ।

पानीको महत्व र आवश्यकतालाई मध्यनजर गर्दै नेपालको संविधानले स्वच्छ खानेपानी र सरसफाईमा पहुँचको हक प्रदान गरेको छ । साथै, नेपालको संविधानले वातावरण संरक्षण र प्राकृतिक स्रोतको उचित, न्यायपूर्ण र दिगो व्यवस्थापनमा व्यक्तिको भूमिकालाई जोड दिदै मौलिक कर्तब्यको एक अंगको रुपमा व्यवस्था गरेको छ । यसै गरी पानीको अधिकारको अवधारणामा मुख्य गरेर जमिनको व्यक्तिगत स्वामित्व वा पानी वा भूमिगत पानीमा व्यक्तिको वास्तविक प्रयोगबाट सिर्जना हुने अधिकारलाई नै कमल लः प्रणालीको अवम्लबन गर्ने देशहरुले स्वीकार गरेको अवस्था रहेको पाइन्छ । यस्ता देशहरुमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, बेलायत, क्यानाडा तथा अन्य थुप्रै कमल लः अवलम्बन गर्ने देशहरु पर्दछन् ।

नेपालमा पानी सम्बन्धी धेरै समस्या तथा चुनौतीहरु छन् । यसको मुल कारणमा राष्ट्रिय वहसमा पानीको कम प्राथमिकता, पानीको विभिन्न पक्षमा संघ, प्रदेश र स्थानीय सरकारको संलग्नता तथा समन्वयमा कमी, अपर्याप्त आर्थिक विनियोजन, स्रोत साधनको सदुपयोगमा कम महत्व दिनु जस्ता पक्षहरु रहेका छन् । तथापी खानेपानीको समस्यालाई न्यूनीकरण गर्ने कुनै सरल उत्तर छैन । एकातिर नेपालले उपलब्ध पानीको थोरै अंश मात्रै प्रयोग गरेको छ र त्यसको माग बढदै गएको छ र आगमी दिनमा अरु बढदै जानेछ । यसै गरी प्रत्येक नागरिकको सुरक्षित खानेपानीमा समान पहुँच नरहेको अवस्था छ । तर यसो हुनुमा देशमा जलस्रोतको अभावले होइन । हुनत नेपालमा खानेपानी सेवाको व्यवस्थित शुरुवात वि.सं. १९४८ मा बीर धाराबाट शुरु भएको र पहिलो पंचवार्षिय योजना वि.सं. २०१३ देखि खानेपानीलाई योजनावद्द रुपमा सम्बोधन गरिदै आएको पाइन्छ । खानेपानीको समस्या समाधन नहुनुमा राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, कानूनी र वातावरणीय विषयहरु पनि कारक रुपमा रहेको अवस्था छ । यसको अलावा जीविकोपार्जन जस्ता नव उदारवादी दर्शनसँग सम्बन्धित बाह्य कारकहरुकाट उत्पंन अनिश्चितताका कारणले पानीको अधिकार जटिल र परिवर्तनको विषय बनाएको छ । हुनत परम्परागत रुपमा, पानीको अधिकारलाई प्रथागत कानूनको रुपमा मुलुकी ऐन मार्फत नियमन गरी भूमि अधिकार अन्तर्गत पानी सम्बन्धी अधिकारलाई समावेश गरिएको थियो । तर वर्तमानमा राजनीतिक, आर्थिक र सामाजिक सम्बन्धसँग जोडिएका नेपालको संविधान र अन्य सम्बन्धित कानूनले पनि पानीको अधिकारलाई वैधानिकता दिएको छ । यसरी नेपालले खानेपानीको अधिकार सम्बन्धी थप क्षेत्रगत कानूनलाई अंगीकृत गरी तिनै तहका सरकारका विभिन्न निकाय लगायत तिनै तहमा सुशासनको माध्यम मार्फत अन्तर सम्बन्ध, सहकार्य र समन्वय गरी विद्यमान अवरोधहरुको सामना गर्नु पर्ने आवश्यकता रहेको छ ।  अर्को तर्फ नेपाललाई स्वच्छ जलस्रोतका हिसाबले संसार कै धनी देश मध्येको एक महत्वपूर्ण देशको रुपमा चिनिन्छ । उदाहरणका लागि हिमनदी, नदी, हिमाली हिमपात, खोला, ताल पोखरी, सिमसार जस्ता कुरामा नेपाल धेरै धनी छ । तसर्थ, हामीले उचित व्यवस्थापन गरेमा पानीमा पर्याप्त आत्मनिर्भर हुन भई विदेशमा स्वच्छ खानेपानी निर्यात गरी आर्थिक लाभ लिन सक्ने अवस्थामा समेत रहेको छ । तर परिस्थिति फरक हुदै आएको छ, किन भनी अहिले मानव गतिविधिका कारण हुने प्रदूषणले धेरै हदसम्म पानी उपभोग गर्न नसक्ने अवस्थामा पुगेको छ । यसै गरी वन फडानी, शहरीकरण, अव्यवस्थित र अवैज्ञानिक तरिकाले हुने शोषण र मानव गतिविधिका कारण हुने प्रदूषणका साथै जलवायु परिवर्तन तथा वातावरणमा हुने परिवर्तनको कारणले स्वच्छ पानीको माग निरन्तर बढदै गएको छ । त्यसैले सतही पानीका स्रोतहरु मात्रै सबैलाई सेवा दिन अपर्याप्त भएको अवस्था छ । यसका साथै सरकारी निकायहरु बीचको व्यवस्थापन र समन्वयको अभावमा प्रशस्त पानी खेर गई रहेको अवस्था पनि देखिन्छ । यी सबै कुराहरुले गर्दा माग र आपूर्ति बीच एक किसिमको असन्तुलन सिर्जना गरेको छ । जसले गर्दा कुनै पनि व्यक्तिले पानीको अधिकार पर्याप्त मात्रमा उपभोग गर्न सकेका छैनन् । साथै, एक व्यक्तिलाई घरेलु प्रयोजनको लागि प्रत्येक दिन २० लिटर खानेपानीको आवश्यकता पर्छ भन्ने कुरा तथ्यांकले देखाएको छ । तर स्वच्छ खानेपानीको अभाव भएकोले यसको आपूर्तिमा चुनौती छ। खानेपानीको सन्दर्भमा नेपालमा संवैधानिक तथा नीतिगत व्यवस्था गरिएको भए पनि अझै कुल जनसंख्याको करीब १७ प्रतिशत भन्दा बढीले स्वच्छ खानेपानीको उपयोग गर्न पाएको अवस्था छैन । यसैले पन्ध्रौ योजनाको आधारपत्रमा औसत ९० प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानीको सुविधा पुन्याउने लक्ष्य राखिएको छ । यसर्थ, खानेपानीको संवैधानिक अधिकार अनुरुप सबैलाई स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्नु तिनै तहको सरकारलाई चुनौती छ ।

यसको मुख्य कारणमा बढ्दो जनसंख्या, प्रकृति तथा वातावरणीय प्रभाव, अव्यवस्थित शहरीकरण, वनजंगलको विनास, जलवायु परिवर्तन जस्ता कार्यले अवरोध उत्पंन गरेको अवस्था  छ । यसै गरी संरक्षणको कमी तथा वातावरणीय विनासले परम्परागत खानेपानीको स्रोतमा कमी आएको र यसको आपूर्ति व्यवस्था पनि नियमित रुपमा सहज हुन सकेको छैन । अर्का तर्फ समय मै खानेपानीको आयोजना पूरा नहुनुले पनि खानेपानीको समस्या थपिदै गएको छ । उदाहरणको लागि मेलम्ची खानेपानी आयोजना २०४६ सालपछि गठन भएको सरकारले थालनी गरेकोमा अझै पूर्ण रुपमा सम्पंन हुन केही महीना लाग्ने देखिएको छ । तथापि यस आयोजनाबाट आपूर्ति हुने खानेपानीले काठमाण्डौ उपत्यकाको अहिलेको खानेपानीको आवश्यकतालाई पूरा गर्न सक्ने अवस्था देखिदैन । यसको मुख्य कारणमा काठमाण्डौ उपत्यकामा दैनिक ४०० करोड लिटर खानेपानीको माग रहेको छ । तर यस आयोजनाबाट केवल १७० करोड लिटर खानेपानी मात्र वितरण हुने हुदाँ अहिलेको अवस्थालाई यसले धान्न सक्ने देखिदैन । जसले गर्दा मेलम्ची आयोजनको पूर्णताले पनि काठमाण्डौमा खानेपानीको अभाव यथावत रहने देखिएको छ ।

यसको अतिरिक्त परिवर्तित संस्थागत संरचनाको सन्दर्भमा खानेपानी क्षेत्रको व्यवस्थित विकासको लागि तीन तहको सरकारमा क्षमता अभिवृद्धि गर्नु, शहर तथा बस्तीमा उपयुक्त आर्थिक तथा प्राविधिक उपायद्धारा मानव सिर्जित मलमूत्र लगायतका औद्योगिक र कृषिजन्य फोहोर पानीको संकलन र प्रशोधन गरी उचित व्यवस्थापन गर्नु यस क्षेत्रका थप समस्या रहेका छन् । यी समस्या तथा चुनौतीको अलावा धेरै अवसरहरु पनि रहेका देखिन छन् । यसमा मुख्य गरेर समुदाय स्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवन शैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशय लगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको सकारात्मक अभिवृद्धि, खानेपानीको सेवा प्रवाहमा निजी क्षेत्रको बढ्दो आकर्षण, समुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिताका अतिरिक्त विदेशमा समेत खानेपानी निर्यात गर्न सकिने सम्भावना यस क्षेत्रका अवसरका रुपमा रहेका छन् । यसर्थ, मानव जीवनमा खानेपानीको बहुआयमिक प्रभाव रहेको कुरालाई ध्यान दिई असल व्यवस्थापन मार्फत यसको समाधान गर्नु आजको मुल आवश्यकता हो । यसो गर्न सकिएमा अन्तराष्ट्रिय पानी दिवसको महत्व नेपालमा समेत रहनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on pinterest
Share on telegram
Share on email
Share on pinterest
Share on reddit
Share on skype
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित