Khabar Samachar

शिक्षामा सूचना प्रविधि : प्रयोग र महत्व

209
VIEWS

आजको युग सूचना प्रविधिको युग हो । सूचनाको संकलन, सम्प्रेषण, एवम् सञ्चार गर्ने पत्रपत्रिका, कम्प्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि भन्ने गरिन्छ । वैज्ञानिक आविष्कार तथा आधुनिकतम् प्रविधिले मानव जीवनमा धेरै ठूला परिवर्तनहरु ल्याउन सफल भएका छन् । मानिसलाई बाँच्न, हिंडडुल गर्न, काम गर्न लगायतका विविध क्षेत्रमा विशेषतः सूचना प्रविधिको प्रयोगले अकल्पनीय बदलाब ल्याएको छ । पारम्परिक मूल्य–मान्यतालाई सूचना प्रविधिमा आएको महत्वपूर्ण परिवर्तनले त्याग्दै विस्थापित गरिएको ठाउँमा नवीन मूल्य–मान्यतालाई स्थापित गर्दै लगेको आजको यथार्थ हो ।

सूचना प्रविधिले शिक्षाको क्षेत्रमा विद्यमान रुढीवादी संस्कार र पद्धतिलाई चुनौति दिंदै शिक्षण र सिकाइका नयाँ विधि र मान्यतालाई अभूतपूर्व रुपमा अघि बढाएको छ । शिक्षाका पाठ्यक्रम निर्माणदेखि त्यसको कार्यान्वयन र मूल्यांकनका सम्पूर्ण अवधिमा सूचना तथा प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ । शैक्षिक प्रतिष्ठानहरुमा जुनसुकै काम र क्रियाकलापलाई अघि बढाउने हो भने सूचना प्रविधिबिना अघि बढाउने प्रयत्न गरिएमा त्यो अपूर्ण हुन्छ भन्ने मान्यतालाई सबै पक्षले स्वीकार्नुपर्छ । शिक्षा तथा सूचना र सञ्चार प्रविधिबीच गहिरो सम्बन्ध छ । शिक्षामा प्रविधिको प्रयोग आजको शिक्षा प्रणालीभित्रको महत्वपूर्ण अवयवको रुपमा रहन गएको छ । कक्षा कोठामा प्रविधि प्रयोगका कारण हाम्रो परम्परागत पठनपाठनको सिद्धान्तलाई विस्थापित गरी नयाँँ अवधारणाको शुरुवात भएको पाइन्छ ।

युगानुकूल सूचना र प्रविधिको विकास तथा प्रयोगमा अगाडि बढेका मुलुकको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय एवम् अन्य क्षेत्रमा भएको प्रगति उल्लेखनीय छ भने सूचना र प्रविधिमा कम पहुँच हुने मुलुकहरूको बीचमा ठूलो खाडल रहेको आभाष हुन्छ । यही असमानतालाई मध्यनजर गर्दै नेपालले पनि शिक्षामा सूचना तथा सञ्चार प्रविधिको पहुँचको अभावले सिर्जना गरेको खाडललाई कम गर्दै लैजाने प्रयासको थालनी गरेको छ । शैक्षिक संस्था तथा शिक्षकले प्रविधिको प्रयोग मार्फत आफ्ना पठनपाठनका कार्यहरू गर्नुपर्ने भएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर, डिजिटल क्यामेरा तथा इमेल इन्टरनेट जस्तो सूचना तथा सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ ।

चित्र, रङ्ग र ध्वनिको सम्मिश्रण हुने हुनाले यसबाट प्रभावकारी शिक्षा प्रदान गर्न सम्भव हुन्छ । ग्रामीण भेगमा दूर शिक्षाको माध्यमबाट शहरी क्षेत्रको सुविधासम्पन्न विद्यालयमा भएका विविध शैक्षिक क्रियाकलाप एवम् पठनपाठनका तरिका देखाउन सकिन्छ । भौतिक पूर्वाधारको अभावमा प्रयोगात्मक कक्षा हुन नसक्ने ठाउँमा अन्यत्र भएका प्रयोगात्मक कक्षाको श्रव्यदृश्य सामग्रीको प्रयोग गरेर देखाउन सकिन्छ । सूचना प्रविधिको द्रुतरत विकास, बढ्दो प्रयोग, यसमा निहीत विषय वस्तुको प्रकृति र घट्दो मूल्यका कारण शिक्षण सिकाइ प्रक्रियामा यसको प्रयोग अर्थपूर्ण हुने देखिन्छ ।

इन्टरनेट सेवाले विश्वलाई एउटा सानोे गाउँ र प्रत्येक विद्यार्थी तथा शिक्षकलाई एकापसमा जोड्ने सेतुको कार्य गर्छ । विश्वको कुनै एउटा कुनामा बसेर अर्को कुनाको हालखबर तथा ज्ञानका कुरा सहजै हासिल गर्न सकिने र आफ्ना प्रतिक्रियाहरू पनि तुरुन्तै प्रदान गर्न सकिन्छ । यसका कारण शैक्षिक संस्थामा केही आर्थिक बोझ भने अवश्य पर्न सक्छ र शिक्षकले पनि आफूलाई प्राविधिक रूपमा पनि दक्ष बनाउनुपर्ने देखिन्छ । जब हाम्रा शैक्षिक संस्थाहरू प्रविधिमैत्री हुन्छन् तब विद्यार्थीले आवश्यकता अनुसार एकल अथवा समूहमा शैक्षिक क्रियाकलाप गर्नेछन् ।

यसले उनीहरूलाई बढी समाजिकीकरण हुन सघाउँछ । यो उपाय शिक्षक केन्द्रितभन्दा प्रविधि केन्द्रित हुनेछ जसले विद्यार्थीलाई आफैँ सिक्न प्रेरित गर्छ र शिक्षकको परम्परागत भूमिकामा परिवर्तन ल्याउनेछ । विकसित देशहरूले यो प्रविधिलाई धेरै पहिले नै प्रयोग गरी शैक्षिक क्षेत्रमा ठूलो फड्को मारिसकेको परिवेशमा प्रविधिप्रति बेवास्ता गर्नु शिक्षालाई पुरानै ढाँचा र ढर्रामा हिँडाउने प्रतिगामी सोच बाहेक केही पनि हुन सक्दैन । शिक्षामा सूचना प्रविधिले सिर्जना गरेका चुनौति चिर्नुपर्ने र पाठ््यक्रमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउँदै परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता छ । शैक्षिक नीति निर्माताले शिक्षण सिकाइको गुणस्तरलाई वृद्धि गर्नका लागि सफलतापूर्वक सूचना प्रविधिको प्रयोगमार्फत शैक्षिक सेवाहरू दुर्गम ठाउँसम्म कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेतर्फ योजना बनाउनुपर्छ ।

सरकारले आ.व. २०७५÷०७६ को बजेटमा सूचना प्रविधिमैत्री शिक्षा मार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न ग्रामीण दूरसञ्चार कोषको रकम समेत उपयोग गरी सबै सामुदायिक विद्यालयमा उच्चगतिको निःशुल्क इन्टरनेट सेवा पु¥याउने भनेको भए पनि आशातीत सफलता प्राप्त हुन सकेन । आजको युग द्रुतगतिमा सूचना सम्प्रेषित गरी प्रभावकारी रुपमा कम खर्च र कम मेहनतमा बढीभन्दा बढी सूचना तथा ज्ञान ग्रहण गर्ने परिस्थितिको निर्माण गर्नु आजको खाँचो हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नयाँ युगको सूत्रपात सूचना प्रविधिको कारणबाट हुन सफल भएको हो । आधुनिक सभ्यताको जग यसबाटै सम्भव भएको हो । समाज विकासको आजको चरणसम्म आइपुग्दा सूचनाप्रविधिको क्षेत्रमा निरन्तर भइरहेको परिवर्तनलाई नजरअन्दाज गर्न सकिँदैन । आवश्यकता नै आविष्कारकी जननी हुन् भने झैं मानिसका भौतिक आवश्यकता र संसारमा बढिरहेको जनसंख्याको कारणबाट सृजित पेचिला संकटको समाधान गर्न सूचना प्रविधिको उपयोग गरिने प्रचलन बढ्दै गएको छ ।

सूचना प्रविधिको कारणबाट मानवीय सम्बन्धमा पनि फेरबदल आउन थालेको र शिक्षा क्षेत्रमा त सूचनाप्रविधि अनिवार्य झैं हुन थालेको छ । उच्च चेतनाको विकास गरी श्रमको सम्मान गर्ने नागरिक तयार गर्ने आधारको रुपमा रहेको शिक्षालाई सूचना तथा प्रविधिबाट अलग राख्ने हो भने युगका चुनौतिलाई शिक्षाले सम्बोधन गर्न सक्दैन । शिक्षामै आफ्नो भविष्य पनि देख्ने सक्षम जनशक्ति निर्माण गर्ने शिक्षाको मूल उद्देश्य हो । हामी एक्काइसौं शताब्दीको अति आधुनिक युगमा बाँचिरहेका छौं । तर, युगको हाँकलाई सामना गर्न सक्ने र विश्वमा भएका बदलाबलाई आत्मसात गर्ने गरी हाम्रो शिक्षानीतिमा सूचना तथा प्रविधिलाई आत्मसात गर्ने गरी परिवर्तन गर्न आवश्यक छ । नयाँ युगका चुनौतिसँग जुध्न सक्ने र प्राप्त विशाल अवसरलाई उपयोग गरी समाज र राष्ट्रलाई प्रगतिको सुमार्गमा डो¥याउन सक्ने सुयोग्य नागरिक उत्पादन गर्ने शिक्षानीति आजको खाँचो हो ।

उच्च चेतनायुक्त प्राविधिक दक्ष नागरिक तयार गर्ने उद्देश्यका साथ शिक्षानीतिमा आमूल परिवर्तन गर्नु अत्यावश्यक भइसकेको छ । शिक्षानीतिमा नेपाल सुहाउँदो सूचना तथा प्रविधिसहितको वैज्ञानिक ढाँचा कस्तो हुनुपर्छ भन्ने कुरा नीति–निर्माता र राजनीतिक तथा शैक्षिक नेतृत्वले सरोकारवाला सबैसँग गरिने घनिभूत छलफल, बहस र अन्तरक्रियाबाट निक्र्यौल गरिने विषय हो । आजको शताब्दीका आवश्यकतालाई सामना गर्न सक्ने वैज्ञानिक शिक्षानीति निर्माण गर्न प्रगतिशील र लोकतान्त्रिक दृष्टिकोणद्वारा निर्देशित हुनुपर्छ र रुढीवाद, अन्धविश्वास र कुरीतिकाविरुद्ध उभिएर सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने लक्ष्य बोकेको हुनुपर्छ । यसको लागि शिक्षामा सूचना प्रविधि पहिलो आवश्यकता हो । आजको शिक्षाप्रणाली अध्ययन र अनुशासनलाई गाँस्ने, शिक्षक र विद्यार्थी दुबै आम जनसमुदायसँग जोडिने हुनुपर्छ । पाठ्यक्रम निर्माणमा समेत शिक्षक, विद्यार्थी र अभिभावकबीचको त्रिपक्षीय संयोजनकारी भूमिकाका लागि सूचना प्रविधिको महत्वपूर्ण देन हुनसक्छ । मुलुकलाई साँचो अर्थमा लोकतान्त्रिकीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्ने सूचना प्रविधिसहितको पाठ्यक्रम निर्माण गर्ने शिक्षानीति हुनुपर्छ ।

सिक्ने र सिकाउने सबालमा विकसित नवीनतम् विधि, नियम र तकनिकीहरुलाई कुशलतापूर्वक प्रयोग गर्नसक्ने उचित वातावरण सृजना गर्दै अन्य विकसित देशको तुलनामा हाम्रो देशलाई पु¥याउने आत्मविश्वास उमार्न सक्ने शिक्षानीति अबको युगमा सूचना तथा प्रविधिको क्षेत्रमा आएका परिवर्तनबाटै सम्भव हुन्छ । देशलाई प्रतिगमन र अधोगतितिर धकेल्ने होइन आधुनिकीकरणको दिशामा अघि बढाउने हो र आधुनिकीकरणको मूल मर्मलाई आत्मसात गर्ने हो भने शिक्षा क्षेत्रमा सूचना प्रविधिलाई अनिवार्य आधार बनाउन सकिन्छ । सूचना तथा प्रविधिलाई मुलुकको पुनर्संरचनाको लागि एक महत्वपूर्ण आधारको रुपमा स्वीकार गरी शिक्षा क्षेत्रमा संरचनागत तथा नीतिगत परिवर्तन आवश्यक छ ।

सूचना प्रविधिको प्रयोगले शिक्षक र विद्यार्थी दुबैका लागि शिक्षण सिकाइ क्रियाकलापमा हुने पहँुचलाई वृद्धि गर्न सकिन्छ । यसले सूचनाको ग्रहण क्षमताको स्तरमा पनि वृद्धि हुन्छ र सबै प्रकारका विद्यार्थीको सहभागितामा हुने सिकाइलाई बढावा दिन सकिन्छ । अफलाइन तथा अनलाइन दुबै माध्यमबाट र दूरशिक्षाको माध्यमबाट शिक्षा प्रदान गर्ने र शिक्षा लिने प्रक्रिया र क्रियाकलापलाई सहजीकरण गर्न सकिन्छ । मल्टीमिडियाको प्रयोगले कक्षाकोठा बढी सजीव र प्रभावकारी हुन्छ । इन्टरनेट र इमेलले सूचनाको क्षेत्रमा क्रान्ति नै ल्याएको छ । सूचना प्रविधिको प्रयोग गर्ने क्रम नेपालमा पनि बढेर गएको छ ।

सफलतापूर्वक सूचना प्रविधिलाई प्रयोग गरेर शिक्षणलाई सशक्तीकरण गर्न धेरै चुनौतिहरु छन् । शिक्षकमा रहेको साधनस्रोतप्रतिको अनविज्ञता र विद्यालय परिवार सूचना प्रविधि मैत्री नहुनु, रेडियो, टीभी, मल्टीमिडिया, कम्प्युटर आदिको प्रयोगबाट सशक्त रुपमा शिक्षण गर्न सकिन्छ भन्ने आत्मविश्वास शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघमा नहुनु प्रमुख अवरोधहरु हुन् । कम खर्चमा पनि सूचनाप्रविधिको प्रयोगबाट उत्तम शिक्षण हुनसक्छ ।

सोही अनुरुप पाठ्यक्रम निर्माण गर्ने र पाठ्यपुस्तक लेखी व्यवहारमा पनि लागू गर्नु आवश्यक छ । सूचना प्रविधिको प्रयोगबाट सबै विषयहरु शिक्षण गरी युगको माग अनुरुपका मानवसंसाधनको उत्पादन गर्नु आजको माग हो । शिक्षा क्षेत्रमा सूचना प्रविधिलाई समुचित प्रयोग गर्न सके कृषि, वाणिज्य, उद्योग, पर्यटन लगायतका क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सच्चाइलाई हामी सबैले ग्रहण गर्नु आवश्यक छ । आजको मूल कार्यभार युगसापेक्ष सूचना प्रविधिको उपयोग गरी शिक्षा प्राप्त गर्नु र शिक्षा दिनु हो । शिक्षकले हिँड्ने बाटो र विद्यार्थीले ग्रहण गर्ने प्रविधि फरक नभएर समान र साझा साधन र माध्यमको रुपमा सूचना प्रविधिलाई उपयोग गर्नु समयको माग हो ।

तीर्थराज खरेल,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित