प्रहरीले ‘स्मार्ट कार्ड रिडर’ मेसिन पाएको छ । बुधबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागमा महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई ‘स्मार्ट कार्ड रिडर’ र त्यसमा प्रयोग हुने ‘स्याम कार्ड’ हस्तान्तरण गरेका छन् ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकारले ८४ लाख १८ हजार ६ सय ९६ बराबरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड खरिद गरेको थियो ।
विभागको सूचना तथा सचार प्रविधि आयोजना अन्तर्गत किनिएका यी उपकरण अब देशभरको ट्राफिक प्रहरीले प्रयोग गर्न पाउने भएका छन् । यसअघि विभागले ट्राफिक प्ररहीलाई केही थान मात्रै यस्तो कार्ड रिडर मेसिन दिएको थियो ।
जसले गर्दा स्मार्ट कार्डको आधिकारिकता जाँच गर्नबाट ट्राफिक प्रहरी नै वञ्चित थियो । अब स्मार्ट कार्डमा रहेको सवारी चालकको व्यक्तिगत विवरण अब ट्राफिक प्रहरीले सजिलै हेर्न सक्नेछ ।उपकरण तथा सफ्टवेयरको प्रयोगबाट नेपाल प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको विभागका महानिर्देशक पाण्डेले बताए ।
Discussion about this post