Khabar Samachar

एक महिनाभित्रमा भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

202
VIEWS

भारतबाट जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए ।

पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने कार्कीको भनाइ छ । उक्त मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने उनले बताए ।

‘भारतीय कम्पनीले पठाएको दर रेटका आधारमा मल खरिदको प्रक्रिया टुंगिएको छ कार्कीले भने, ‘अबको एक महिना भित्रै मल भित्रिने छ ।’ कम्पनीकाअनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो ।

यो मूल्य ग्लोबल टेण्डरको फर्किन मूल्यका आधारमा गरिने मूल्यांकन भन्दा ५७.७७ डलरको आधारमा १.९४ प्रतिशत सस्तोमा मल किनिएको कार्कीले बताए । खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले मल ढुवानी गर्ने छ ।

२०७८ फागुनमा नेपाल र भारत बीच नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म खरिदका लागि जीटूजी सम्झौता भएको थियो । जसअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार मेट्रिकटन मल ल्याइने छ । यस्तै चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग सम्झौताअनुसार खरिद गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित