काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध परेको उजुरीमाथि छानविन गर्न गठित समितिको म्याद पुनः थप भएको छ । महानगरले ८ पुसमा पाण्डेमाथि छानबिन गर्नका लागि समिति गठन गरेको थियो ।
उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि पर्याप्त समय नभएको भन्दै २२ पुसमा छानबिन समितिको म्याद पहिलो पटक थप भएको थियो । दुई साता थप भएको म्याद सोमबार सकिएको हो ।
छानबिन गर्ने काम अझै पनि जारी रहेकाले थप एक साता म्याद थप गरिएको छानबिन समितिका संयोजक तथा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए।
‘सोधपुछ लगायतका काम अझै पनि भइरहेको छ’, उनले भने, ‘तथ्य प्रमाणहरू अझै संकलन गरिरहेको हुँदा र प्रतिवेदन लेख्ने काम पनि भइरहेको हुँदा गत शुक्रबार एक साताको लागि म्याद थप गरिएको हो।’
उनका अनुसार छानबिन गर्दै जाँदा विभिन्न कुराहरू आएको र फेरि त्यस्ता कुराहरूमा अनुसन्धान गर्दा समय लागेको हो।
‘अहिले छिट्टै नै छानबिन प्रतिवेदन बुझाउने हिसाबले म्याद थप गरिएको हो,’ उनले भने, ‘यो म्याद नसकिँदै हामी छानबिन प्रतिवेदन बुझाउँछौं।’
महानगरले पुस २२ गते दुई साता म्याद थप गरेको थियो। त्यसपछि गत शुक्रबार फेरि एक साता म्याद थप गरेको हो।
महानगरले पुस ८ गते छानबिन समिति गठन गरेको थियो र समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिको संयोजकमा गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य छन्।
Discussion about this post