उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघ र प्रदेशको मत गणना छुट्टाछुटै हुँदैछ।
निर्वाचनमा मतदान प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो। संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ।
निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका हुन्।
प्रेम सुवाल, वर्षमान पुन (बिरामी), चन्द्र भण्डारी (बिरामी), लक्ष्मी कोइरी, शाहनाज रहमान (मृत्यु), रामचन्द्र पौडेल (राष्ट्रपति) र मनोरमा शेरचन तथा राप्रपाका १४ जना सांसदले चुनावी प्रक्रियामा भाग लिएनन्।
उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।
यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ।
संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ।
कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भए निर्वाचन अधिकृतले उक्त व्यक्ति निर्वाचित भएको घोषणा गर्नुपर्ने व्यवस्था ऐनको दफा ५५ (२)ले गरेको छ।
बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने हुन्छ। पुनः मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको ५० प्रतिशतभन्दा बढी भए निर्वाचित भएको घोषणा गर्नुपर्ने ऐनमा उल्लेख छ।
५० प्रतिशत नकटाए पुनः निर्वाचन गराउनुपर्ने हुन्छ।
Discussion about this post