Khabar Samachar

कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषी देखिनेलाई कारबाही हुन्छः मन्त्री बस्नेत

210
VIEWS

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणको छानबिन गरी दोषिउपर कारबाही हुने बताएका छन् ।

इजिप्टको राजधानी कयरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार काठमाडौं आइपुग्नुभएका मन्त्री बस्नेतले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

केही दिन अघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया रेजिशा गोपालीले इमर्जेन्सीमा उपचार नपाएर मृत्यु भएको खबर सञ्चारमाध्यमहरुमा आएको थियो । उनले आफू विदेशमा भएको बेलामा पनि सो घटनालाई चासोका साथ हेरेको र स्वास्थ्य सचिवलाई फोन गरेर घटनाबारेमा बुझेको बताए । उनले यस घटनाको छानबिन गर्न छानबिन समिति गठन भएको र गल्ती गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पारे ।

उनले भने,‘कान्ति बाल अस्पतालमा भएको घटनाको बारेमा पैसाको अभावमा भन्नेकुरा मैले सुनेको छैन । केही समय पहिला उपचार गर्नुपर्ने भीडभाड र बिरामीको लाइनले गर्दा त्यो समयमा भएन त्यसले गर्दा मृत्यु भयो भन्ने मैले विदेशमा भएपछि पनि त्यो खबर सुनेको थिएँ । त्यो खबर सुन्नेबित्तिकै सचिवज्यु डा. रोशन पोखरेललाई मैले सम्पर्क गरेँ । छानबिन समिति बनाउने प्रक्रिया अगाडी बढेको छ तुरुन्तै भन्नुभएको थियो । बनेको होला । केही त्यहाँ जानाजानी त्यस्ता गल्तीहरु केही भएको रहेछ भने कारबाही हुन्छ । उता हुँदा पनि मैले यसलाई चासो राखेर हेरेकै हो । कारबाही नै गर्नुपर्छ भनेको छु मैले ।’

उनले इजिप्टमा भएको कार्यक्रममा बसाइँसराई र अव्यवस्थित बसोबासका दृष्टिले स्वास्थ्य क्षेत्रमा परेका समस्याहरुको बारेमा छलफल भएको बताए । त्यसैगरी आधारभुत स्वास्थ्य सेवा दिने कुरालाई व्यवस्थित गर्ने रणनीतिको सम्बन्धमा पनि छलफल भएको उनले बताए । त्यसैगरी जनसंख्या र स्वास्थ्य सेवालाई सँगसँगै लिएर जान सकिएन भने विकास पनि सम्भव छैन भन्ने विषयमा छलफल भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित