Khabar Samachar

वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

202
VIEWS

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको प्रतिनिधि सभा सदस्यका २ छुट्टा–छुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने जनाएको छ।

तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने आयोगले जनाएको छ। निर्वाचन प्रयोजनका लागि चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको आयोगले जनाएको छ।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम मिति २०७९।१२।५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०७९ साल चैत ८ गते देखि २०७९ साल चैत १२ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ,’ आयोगले मंगलबार एक सूचना जारी गर्दै भनेको छ। आयोगले चितवन क्षेत्र नम्बर २ मा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्नेगरी यसअघि नै कार्यतालिका तय गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएपछि चितवन २ मा रिक्त रहेको थियो।

यस्तै, रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि तनहुँ १ र रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ रिक्त रहेको थियो।

सङ्घीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको जानकारी दिएका छन्।

निर्वाचन आयोगको कार्यक्रमअनुसार चैत २० गते मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। चितवन २, तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित