Khabar Samachar

मन्त्री र उम्मेदवार छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

205
VIEWS

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।

कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय लिँदै आएको छ।

सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले क-कसलाई मन्त्री बनाउने टुंगो गरिसकेको छैन। यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो।

यही मापदण्डका आधारमा सरकारमा पठाउने मन्त्रीबारे मंगलबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ। कांग्रेसले सत्ता गठबन्धनका बैठकमा ८ मन्त्रालय दाबी गरेको छ। कांग्रेसले अर्थ, गृह, परराष्ट्र, रक्षालगायत मन्त्रालय आफूहरूले पाउनुपर्ने बताइरहेको छ। तर माओवादीले गृह आफैँसँग राख्न चाहेको छ।

साथै कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ। चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले त्यसअघि नै उम्मेदवार तय गरेर जानेबारे सभापति देउवाले पार्टीमा छलफल गर्न लागेका हुन्। उम्मेदवार हुन आकांक्षीबाट कांग्रेस क्षेत्रीय समितिहरूले आवेदन लिइरहेका छन्।

‘कार्यसम्पादनमा समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारका लागि पार्टीबाट पठाइने मन्त्रीहरू र उपनिर्वाचन तथा उम्मेदवारबारे पनि छलफल हुन्छ,’ एक पदाधिकारीले भने।

कांग्रेस संसदीय बोर्ड बैठकले उम्मेदवारलाई टिकट दिने विधानको व्यवस्था छ। संसदीय बोर्डमा पनि पदाधिकारी मात्रै सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित