बर्दियामा नेपाली कांग्रेस गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरी, वडानम्बर ६ का वडाअध्यक्ष निरज शर्मालगायतका नेपाली कांग्रेसका नेताहरु सहित माओवादी,जसपा र विभिन्न पार्टी परित्याग गरी ४ हजार ५ सय जना एमालेमा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले बिहीबार बर्दिया पुगेर उनीहरुलाई एमालेमा भित्राएका छन् । दिउसोको चर्को गर्मीका बाबजुत सदरमुकाम गुलरियामा भएको विशाल कार्यक्रममा स्थानीयको खचाखच रहेको थियो ।
त्यो भन्दा अगाडि बाँकेमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापासहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सय जनालाई ओलीले एमालेमा प्रवेश गराएका थिए ।
एमाले केन्द्रीय सदस्य किस्मतकुमार कक्षपतिले बाँके बर्दियामा एमालेको असाधारण जनलहर आएको बताए ।
सो अवसरमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् । लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने ओलीले बताए ।
बाँके र बर्दियामा आएको लहरले ले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दावी गरे ।
ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । अध्यक्ष ओलीले भने, ‘देशलाई झन गरीव हुनबाट बचाउन सकिदैन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ ।’ उनले सरकारले अस्पताल र विद्यालयका आयोजनाहरु समेत बन्द गर्न थालेकाले बृद्ध भत्तासमेत बाँड्न रोक्ने आशङ्का गरे ।
ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक-एक लाख रकम दिने घोषणा गरे । मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने ओलीले बताए । उनले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताए ।
उनले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गरे । नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको ओलीले बताए ।
ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उनले भने,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभर जनलहर चलेको छ ।’
Discussion about this post