Khabar Samachar

१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिन पाइने

205
VIEWS

कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।

यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।

बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो । एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्‍याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको बोर्डले जनाएको छ ।

दुई विषय भन्दा माथि विषयमा एनजी लाग्दा सोही कक्षामा दोहोर्‍याएर पढ्न अथवा सबै विषयको परीक्षा दिने गाह्रोले कतिपय विद्यार्थी पढ्न छोड्ने भएकोले कक्षा १२ पछिको ड्रप आउट रोक्नको लागि यो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने, ‘कक्षा १२ पछिको ड्रप आउट रोक्ने र समग्र शिक्षा प्रणालीलाई सहयोग होस् भनेर विद्यार्थी मैत्री, विद्यार्थीको सुविधालाई ध्यानमा राखेर निर्णय गरिएको हो ।’
पहिला नै पास गरिसकेको विषयमा फेरि पढेर परीक्षा दिनुपर्दा विद्यार्थीमा नैराश्यता छाउने र जुन विषयमा लागेको छ त्यहि विषयमा परीक्षा दिन पाउँदा विद्यार्थीमा सकारात्मक उत्प्रेरणा मिल्ने उनको भनाइ छ ।

निर्देशिकाको यो व्यवस्थाले शैक्षिक गुणस्तरमा असर नगर्ने उनको जिकिर छ । अरु राष्ट्रहरुको व्यवस्थाहरु पनि अध्ययन गर्दा यस्तै व्यवस्था भएकोले गर्दा नेपालमा पनि त्यो सुविधा दिने निर्णय भएको बताए ।

निर्देशिकाको दफा ७ (ङ) संशोधन गर्दै ‘नियमित तथा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले जुन जुन विषयमा ग्रेड प्राप्त गर्न नसकेको हो सोही सोही विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित