नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलामा पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार रातभर सडक ठप्प रहयो । सो ठाउँमा बिहीबार दिउँसो १ बजेतिर पहिरो गएपछि बाटो बन्द भएको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पहिरो खस्न अझै रोकिएको छैन । पहिरोका कारणले आज पनि बाटो रोकिने अवस्था छ ।
भरतपुरको डिभिजन सडक कार्यालयका दुईवटा डोजर पहिरो गएकै ठाउँमा छन् । तर डाँडाको माथिबाट ठुला ढुंगाहरू खसेर सडकमा बजारिने गरेका कारणले खसेको पहिरो खासै ठूलो नभए पनि सफा गर्न गाह्रो हुने गरेको छ ।
सो ठाउँमा हिजो बिहान नौ बजेतिर पहिरो असेर एक घन्टाजति बाटो थुनिएको थियो । तर दिउँसो १ बजेरर ५ मिनेट जाँदा आएको पहिरोले बाटो ठप्पै भएको हो । बाटो अवरूद्ध हुँदा काठमाडौं पोखरा आउजाउ गर्ने सयौं गाडीहरू बाटोमै छन् । वर्षायाम सुरू भएसँग यो सडकमा हरेक वर्ष पहिरोले सास्ती दिने गरेको छ ।
Discussion about this post