Khabar Samachar

विमान दुर्घटनापछि बेपत्ता चार बालबालिकाको ४० दिनपछि अमेजन जंगलबाट उद्धार

219
VIEWS

कोलम्बियामा ४० दिनअघि भएको जहाज दुर्घटनामा परी बेपत्ता भएका चार जना बालबालिकाको उद्धार भएको छ।

मे १ मा भएको सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको कोलम्बियन सेनाले शुक्रबार उद्धार गरेको रोयटर्सले जनाएको छ।

उनीहरूले अमेजन जंगलबाट १, ४, ९ र १३ वर्षका बालबालिकालाई उद्धार गरेका हुन्।

सान होसे डेल ग्वाभियर सहरतर्फ गइरहेको सानो सेस्ना २०६ विमान अराराकुरा ज‌ंगलमा दुर्घटना हुँदा विमानका चालक र ती बालबालिकाका आमा र एक जना स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो। घटनास्थलमा उनीहरूका शव भेटिएका थिए तर विमानमा सवार ती बालबालिका हराइरहेका थिए।

विमान जंगलका रुखमा वृक्षझै ठडिएको अवस्थामा भेटिएको थियो। अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन्।

दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले एक सय ६० जना सिपाही र जंगल क्षेत्रको सम्पूर्ण जानकारी भएको ७० जना आदिवासी जनजाति सम्मिलित एक विशाल टोली परिचालन गरेर खोजी प्रारम्भ गरेको थियो।

हिंस्रक जंगली जनावर, विषालु सर्प र सशस्त्र लागूऔषध तस्कर समूहको आधार इलाकामा उनीहरूको खोजी गर्नु चानचुने काम थिएन। तर खोजी टोलीले खुट्टाको छाप, एक डाइपर, आधा खाएको फल भेटेपछि आफू सही बाटोमा रहेको विश्वासका साथ खोजीलाई निरन्तरता दिएको थियो।

उद्धार टोली केटाकेटीहरू भौतारिन सक्ने र भेट्टाउन अझ गाह्रो हुने चिन्ताले ग्रसित थियो। वायुसेनाले दश हजारभन्दा बढी पर्चा स्पेनिस र बालबालिकाको आफ्नै आदिवासी भाषामा छापेर जंगलमा फ्याँकेको थियो जसमा उनीहरूलाई कतै नजान अनुरोध गरिएको थियो।

ती पर्चामा भयावह त्यस जंगलमा कसरी बाँच्ने भन्नेबारेमा सुझाव पनि समेटिएका थिए भने खानाका थैला र पानीका बोतल पनि खसालिएका थिए। साथै उद्धारकर्ताले बालबालिकाकी हजुरआमाले रेकर्ड गरेको सन्देश पनि ‘लाउड स्पिकर’बाट बजाउँदै उनीहरूलाई कतै नजान आग्रह गरेका थिए। अन्ततः ती बालबालिका दुर्घटनास्थलबाट करिब पाँच किलोमिटर पश्चिममा फेला पारेका थिए।

बेपत्ता ती बालबालिकामध्ये केही शिकार गर्न र माछा मार्न अभ्यस्त रहेका तिनका हजुरबुबा फिडेन्सियो भ्यालेन्सियाले एएफपीलाई बताएका थिए। साथै उनीहरू जंगलसँग राम्ररी परिचित पनि थिए।

राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरूको जीवितै उद्धार गरिएको घोषणा गर्दै भने, ‘आज हामीले एउटा चमत्कारपूर्ण दिन बिताएका छौं।’

हेलिकप्टरबाट उनीहरूको उद्धार गरिएको हो। बालबालिकाको स्वास्थ्यस्थिति नाजुक भएकाले तत्काल अस्पताल पुर्‍याइएको छ।

राष्ट्रपतिले ट्वीटरमा सार्वजनिक गरेको तस्बिरमा सैन्य पोशाकमा रहेका केही मानिसका माझमा उद्धार गरिएका कमजोर बच्चा देखिन्छन् भने एक जना उद्धारकर्ताले सबैभन्दा सानो बच्चालाई काखमा राखेर उसको मुखमा दूधको बोतल राखेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित