काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।
‘हिन्दी फिल्मलाई लिएर विगतमा भएका घटनालाई लिएर गम्भीर छौं । बालेनजीको भनाई र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुन्छ । बालेनजीले कुन सन्दर्भमा बोल्नुभएको हो, त्यो कुराको छलफल हुन्छ । उहाँले समय तोकेरै सबै हिन्दी फिल्म रोक्ने अभिव्यक्ति दिनुभएको छ । कसरी अघि बढ्ने निधो गर्छौं’ संघका एक सदस्यले भने ।
मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने स्टाटस लेखेका थिए । उनले तीन दिनको डेट तोकेरै लेखेकाले चलचित्र संघले यसबारे बैठक बोलाएको हो । तर, नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।
यसैबीच केही सांसद र दलको भातृ संगठनका नेताहरुले पनि फिल्मलाई लिएर विरोध जनाइरहेका छन् । फिल्म निकायका सबै संस्थाले पनि फेसबुकमा स्टाटस लेख्दै आपत्ति व्यक्त गरिरहेका छन् । केही भारतीय संचारमाध्यमले समेत यो प्रकरणलाई प्राथमिकता दिँदै समाचार प्रकाशन प्रसारण गरेका छन् ।
Discussion about this post