११ बुँदे घोषणापत्र जारी गर्दै तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

205
VIEWS

काठमाडौं । काठमाडौंमा दुई दिनदेखि सञ्चालन भइरहेको ‘तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज÷समुदाय निर्माणमा आ–आफ्नो क्षेत्रमा अगाडि बढ्ने सहकारी एवम् लघुवित्त संस्थाहरूले संकल्प गरेका छन् ।
‘घर–घरमा उद्यम फैलाउँ, गरिबीलाई शुन्य बनाउँ’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनका सहभागी सदस्यहरूले आ–आफ्नो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियान्ताका रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अगुवा अभियन्ता शंकर मान श्रेष्ठले पनि सो नारालाई मूलमन्त्र बनाएर कार्यान्वयनमा ल्याउन उपस्थित सदस्यहरूलाई आग्रह गरे । ‘घरघरमा उद्यम फैलाउने र गरिबी शुन्य बनाउने अभियानको अभियन्ता बन्नुहोस्’, उनले भने, ‘तपाईंहरू सबैले आफ्ना वरिपरिका दाजुभाइ दिदी बहिनीहरूमध्ये ५ जनालाई आफूजस्तै उद्यमी बनाउने अभियान चलाउनुहोस्, हाम्रो संकल्प कार्यान्वयन हनुपर्छ ।’
यो सम्मेलनमा लघुवित्तको माध्यमबाट सिर्जित सफलताका कथाहरू सुन्दा निकै उत्साहित बनाएको र ‘गरे के नहुने रहेछ’ भन्ने महशुस पनि गराएको स्वाबलम्वन विकास केन्द्र (सीएसडी)का अध्यक्षसमेत रहेका श्रेष्ठले बताए । उनले आवश्यकता र तोकिएको मापदण्डभन्दा बढी कर्जा नदिन सहकारी तथा लघुवित्त कम्पनीहरूलाई सुझाव पनि दिए । यस्तै, लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेकामध्येबाट १० सफल उद्यमीहरूलाई सीएसडीले पुरस्कृत गर्ने पनि उनले सुनाए । हरेक लघुवित्त कम्पनीले आफ्नो कार्यक्षेत्रको कम्तीमा ‘एक गाउँमा इको भिलेज’ विकास गर्न पहल गर्नुपर्ने ११ बुँदे संकल्पपत्रमा उल्लेख छ । तीनैमध्येबाट १० उत्कृष्ट इको भिलेज छनोट गरी पुरस्कृत गर्ने उनले बताए । यस्तै, आगामी दिनमा १० वटा उत्कृष्ट ३ शुन्य क्लब छनोट गरेर पनि पुस्कृत गर्ने उनको भनाइ थियो ।
सम्मेलनको सांस्कृतिक उपसमिति संयोजक शोभा शर्माले सम्मेलनमा चलेका विभिन्न सत्रका छलफलबाट निकै उपलब्धिपूर्ण निष्कर्ष निस्किएको बताइन् । लघुवित्त संस्थाहरूले महिलालाई उद्यमी÷स्वरोजगार मात्र नबनाई नेतृत्व तहसम्म पुग्ने खुड्किलोसमेत बनेको उनको भनाइ थियो । ‘पहिला आफ्नो नाम भन्न पनि लजाउनेहरू अहिले आफ्नो दुःख र सफलताका कथा निर्धक्कसँग भन्न सक्ने भएका छन्’ उनले भनिन्, ‘गाउँगाउँमा उद्यमी महिला जन्माउन लघुवित्तको योगदान महत्वपूर्ण छ ।’ बैंकमा धितो राखेर ऋण निकाल्न नसक्ने विपन्न वर्गका महिलाहरू पनि लघुवित्तबाट बिनाधितो ५ लाखसम्म कर्जा लिई उद्यमी बनेर अहिले समाज र राष्ट्रकै ‘सक्सेस स्टोरी’ बनेका छन् ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको पोखरास्थित बिरौटा केन्द्रकी प्रमुख देवीमाया अधिकारीले नपढेका महिलाहरूले पनि ‘ऋण लिन, उद्यम गर्न, पैसा कमाउन र परिवार पाल्न सक्छन्’, है भन्ने सन्देश प्रवाह गर्न लघुवित्त संस्थाहरू सफल भएको बताइन् । उनले भनिन्, ‘पहिला महिलालाई नेतृत्वमा आउन आर्थिक अभाव अवरोध बनेको थियो, अहिले गाउँगाउँमा महिलाहरू उद्यमी बन्न थालेका छन्, जसले महिलाहरूलाई नेतृत्वमा पुग्न पनि सहज बनाएको छ ।’ लघुवित्तबाट कर्जा लिएर उद्यमी भएका कतिपय मानिसहरू आर्थिक रूपमा सबल बन्दै गएपछि राजनीति, नीति निर्माणको तह, सामाजिक संघसंस्थाको नेतृत्वसम्म पुगेका उदाहरणहरू प्रशस्त छन् । पहिला लघुवित्तबाट बिनाधितो कर्जा लिएर उद्यमी बनेकाहरू अहिले ठूला बैंकहरूमा सम्पत्ति धितो राखेर कर्जा लिई व्यवसाय विस्तार गर्ने अवस्थामा पनि पुगिसकेका छन् । लघुवित्तले सशक्तीकरणमा पनि उत्तिकै भूमिका खेलेको सम्मेलनमा सहभागीले बताए ।
सो अवसरमा लघुवित्तबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन जना महिलालाई पुरस्कृत गरिएको थियो । तनहुँको भानु गाउँपालिकामा गाईपालन गरिरहेकी बबिता गुरुङ, दाङको तुलसीपुरमा गाई पालिरहेकी सरिता रेउले र रंगेली–१, मोरङमा तरकारी खेती गरिरहेकी सरिताकुमारी शाह उत्कृष्ट उद्यमी बनेका छन्, जसलाई लघुवित्तका अभियन्ता श्रेष्ठले जनही २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मानित गरे । यस्तै, सम्मेलन आयोजकले सुर्खेतको जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत १० जना विपन्न वर्गका छात्रछात्रालाई जनही ३० हजारका दरले छात्रवृत्तिसमेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायण सिग्देललाई एकमुष्ठ ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
सम्मेलनमा घोषणापत्र मस्यौदा समितिका सदस्य भोजराज बस्यालले ६० लाख घरधुरीमा लघवित्तले वित्तीय पहुँच पु¥याएको सुनाए । प्रधानमन्त्रीको शुभकामना सन्ेदश, कायममुकायम गभर्नर निलम ढुंगनाको मन्तव्य, विज्ञ स्रोत व्यक्तिहरूबाट प्राप्त विचार एवं महिला सदस्यहरूको मन्तव्यबाट प्राप्त बुँदाहरूलाई समेटेर घोषणापत्र (संकल्पपत्र) तयार पारेको उनको भनाइ थियो । घोषणापत्रको मस्यौदा तयार पार्न बस्याल, शारदा पोखरेल, हिराकुमारी थामदारसहित ४ जनाको योगदान थियो ।
यस्तो छ ११ बुँदे घोषणापत्र
१) ‘घर–घरमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’ भन्ने नारालाई मुर्त रुप दिन सम्मेलनका सहभागी सदस्यहरूले आ–आफनो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियन्ताको रुपमा कार्य गर्ने ।
२) लघुवित्त संस्थाहरूले आफ्ना ग्राहक सदस्यहरूको वृद्धि मापन गरी सम्भावित उद्यमी सदस्यहरूको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा सक्षम उद्यमी बनाउनको लागि स्थानीय सेवाप्रदायक संस्थाहरू स्थानीय निकायहरूसँग समेत समन्वय गरी उद्यमशीलता अभिवृद्धिको लागि सहजीकरण गर्ने ।
३) हालसम्म पनि लघुवित्तको पहुँचबाट टाढा रहेका तथा दुर्गम स्थानका अतिविपन्न वर्गमा पर्ने परिवारहरूको पहिचान गरी विवरण तयार गर्ने र कार्य योजना बनाइ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने । यसरी समेटिने अति विपन्न परिवारको अनुगमन प्रणालीमा समेत विकास गर्ने ।
४) लघुवित्त सेवाको आधारभुत मूल्य मान्यता तथा ग्राहक संरक्षण सिद्धान्तहरू पूर्ण पालना हुने गरी कार्य पद्धतिमा पुनरावलोकन गरी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने ।
५) लघुवित्तका सदस्यहरूलाई ऋणको अतिभारबाट जोगाउन साख सूचना लिने दिने कार्यलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने । कर्जा सूचना केन्द्रबाट लघुवित्त संस्थाहरूबीच मात्र साख सुचना लिनेदिने पद्धतिलाई ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू र सहकारी संस्थाहरूबीचको विपन्न वर्ग कर्जा कारोबारलाई समेत साख सूचना लिने दिने पद्धति लागु गर्न सम्बन्धित निकायहरू समक्ष अनुरोध गर्ने ।
६) लघुवित्तको माध्यमबाट गरिबी न्यूनीकरण गर्न साविकको कार्य पद्धतिमा भएको कमि कमजोरी यकिन गरी कर्जाको सदुपयोग, स्वरोजगारी, वचत परिचालन, बीमा, सुरक्षण, बजारीकरणको प्रणाली क्रियाशील रहने व्यवस्था गर्ने ।
७) लघुवित्तका असल प्रयासहरू दोस्रो पुस्ता, अर्थात सदस्यका छोराछोरी जस्ता युवाहरूलाई उनीहरू अध्ययन गर्ने विद्यालय, कलेजमा गई अन्तरक्रियाको माध्यमबाट घरपरिवारको आर्थिक अवस्था, पारिवारिक बजेट, कर्जा, बचत, बीमा, रेमिटान्स, डिजिटलाइजेसन, स्वरोजगारी, उद्यमशीलता, पर्यावरण संरक्षण जस्ता विषयमा छलफल गर्ने । उनीहरूलाई ३ शुन्य क्लबको माध्यमबाट पनि परिचालन गर्ने ।
८)  सदस्यका छोराछोरीहरू अर्थात् युवाहरूलाई स्थानिय साधन स्रोत, सम्भावनाहरू पहिचान गर्ने र ती साधन स्रोत परिचालन गरी पर्यावरणलाई कम भन्दा कम हानी गर्ने गरी व्यवसाय संचालन गर्न स्वरोजगार बन्न, रोजगारीका अवसर सृजना गर्न घरपरिवारबाट, स्थानिय निकायहरूबाट र लघुवित्त संस्थाहरूबाट अभिप्रेरित गर्ने । युवाहरूको स्वभाव नै सृजनशिल हुने कुरालाई मनन गरी नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने । लघुवित्त संस्थाहरूमार्फत त्यस्ता युवाहरूलाई समेत वित्तीय सेवा उपलब्ध गराउने ।
९. लघुवित्त संस्थाहरूले सदस्यहरूको हित एवम् सुरक्षाको लागि बीमा कम्पनीहरूसँगको समन्वयमा कर्जा बीमा, लघुबीमा जस्ता कार्यक्रमहरूमा आबद्ध गराई उनीहरूको सुरक्षणको प्रबन्ध मिलाउने । उपलब्ध सेवाहरू आवधिक रुपमा पुनरावलोकन गर्दै सदस्यहरूको आवश्यकताअनुसार सेवाको दायरा बढाउँदै लैजाने ।
१०.बिग्रँदो वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै सकेसम्म वातावरणमा कम हानी पर्ने गरी दिगो कृषि प्रणाली, पानीको मुहान संरक्षण, बोटबिरुवाको संरक्षण सहितको स्वरोजगारीयुक्त उद्यमशिल स्वावलम्बी नमुना गाउँको विकास गर्न हरेक लघुवित्त संस्थाले आफ्नो कार्यक्षेत्रको कम्तीमा एक गाउँमा पहल गर्ने ।
११. हरेक संस्थाले कम्तीमा एउटा स्थानिय माध्यमिक विद्यालयसंग सहकार्य गरी उद्यमी निर्माण केन्द्रको रूपमा विकास गर्ने । सो स्कुलमा अध्ययन गर्ने सदस्यका छोराछोरीहरूसँग संवाद गरी उद्यमी बन्न प्रोत्साहित गर्ने र कर्जा सुविधा उपलब्ध गराउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on pinterest
Share on telegram
Share on email
Share on pinterest
Share on reddit
Share on skype
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित