Khabar Samachar

काँग्रेसले ललितपुर महानगर मेयरको उम्मेदवारका लागि सिफारिस गर्‍यो सात जनाको नाम

203
VIEWS

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओप्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो।

नगर सभापति शुभाननले मेयरका लागि सात जनाको नाम सिफारिस गरेर प्रदेशमा पठाइएको सेतोपाटीलाई बताए। अब प्रदेशले नाम केन्द्रमा पठाउनेछ। कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ।

ललितपुर महानगरमा चिरीबाबुले फेरि एक कार्यकाल दोहोर्‍याउने इच्छा देखाएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट छन्।

नगर सभापति धाख्वा पनि संस्थापन पक्षकै हुन्। उनी पनि यसपालि मेयर आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन्।

प्रेमकृष्ण यसअघि चुनावमा ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभामा उठेर पराजित भएका थिए। उनी ०५४ को चुनावमा पनि ललितपुरमा उपमेयरमा पराजित भएका थिए। उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन्।

यस्तै भरतलाल पनि लामो समयदेखि कांग्रेस राजनीतिमा छन्। उनले ०७४ मा पनि मेयरका लागि दाबी गरेका थिए। लामो समय नगर सभापति भएर काम गरेकोले जनमानसमा आफू भिजेको र पुरानो नेता भएकोले पनि यसपालि टिकट पाउनुपर्ने उनको दाबी छ।

‘ललितपुरमा म पुरानो नेतामा पर्छु, यसपालि पार्टीले मलाई मेयर उठाउनुपर्छ,’ उनले भने, ‘मैले नेताहरूलाई नै भेटेर भनेको छु- यसपालि मेयर पाइनँ भने अर्को पटकका लागि मेरै उमेरले पनि दिँदैन।’

ललितपुर नगर समितिले उपमेयरका लागि भने नाम सिफारिस गरेको छैन। केही दिनमा उपमेयरका लागि नाम सिफारिस गरिने सभापति धाख्वाले बताए।

कांग्रेसले पाँचदलीय गठबन्धनसहित स्थानीय चुनावमा जाने निर्णय गरेको छ। ललितपुरसहित ६ महानगर गठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन्। ललितपुर महानगर पनि आफूहरूले पाउनुपर्ने गठबन्धनभित्र कांग्रेसको माग छ।

महानगरमा मेयरको उम्मेदवारको टुंगो काँग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति  पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित