काठमाडौं– नेपाली कांग्रेस चितवनमा ५० जना सक्रिय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन्। भरतपुर महानगरपालिकाको नेतृत्व अर्को पार्टीलाई दिन लागिएको भन्दै कार्यकर्ताहरुले शनिबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन्।
बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए।
सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्।
शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले आइतबार बस्ने गठबन्धनको बैठकले महानगरका मेयरको नाम टुंग्याउने दाबी गरेका थिए।
चितवनका गठबन्धनमा रहेका दलहरूको जिल्ला स्तरीय संयन्त्रको बैठक पनि आज साँझ बस्दैछ। उक्त बैठकमा महानगरकै विषयमा छलफल हुने जिल्ला सभापति राजेश्वर खनालले बताए।
उनीहरूले पार्टीको नेतृत्व सत्तालिप्त भएको आरोप लगाउँदै स्वतन्त्र अभियान चलाउने घोषणा गरेका थिए।
भरतपुर महानगरपालिकाको मेयर पदमा पुन: माओवादी केन्द्रलाई नै समर्थन गर्न लागिएको भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० कांग्रेस कार्यकर्ताले राजीनामा दिएका हुन्। पार्टीका स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाइमा शनिबार एक औपचारिक कार्यक्रम गरी उनीहरुले राजीनामा दिएका हुन्।
Discussion about this post