Khabar Samachar

राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति रकम असुली र धम्कीको आरोपमा पक्राउ

202
VIEWS

गणतन्त्र दिवसका अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक जना व्यक्तिलाई अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ ।

९ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन भन्दै कैद सजाय छुट पाएर जेलबाट निस्केका भरतपुर महानगरपालिका वडा नं.९ का ५५ वर्षीय रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो । थापामाथि २५ लाख रुपैयाँ नदिए भरतपुर महानगरपालिका-१ का सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ ।

सुवेदीले भरतपुर १ मा धनवन्तरी मेडिकल सञ्चालन गर्दै आएका छन् । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीको भनाइ छ ।प्रहरीले उनलाई भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार आरोपित थापाले हिन्दी भाषामा बोलेर सुवेदीलाई धम्क्याएका थिए । ‘थापाको विगत हेर्दा पटक-पटक अपराधमा संलग्न भएको र गणतन्त्र दिवसका दिन आममाफी पाएर जेलबाट छुटेको देखिएको छ,’ प्रहरी प्रवक्ता पण्डितले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित