मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । निकट स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।
निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल ल्याइएको थियो । आज दिउँसो डाक्टरले मृत घोषित गरेका हुन् ।
सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।
त्यसो त दिपाशा म्यूजिक भिडिओमा सक्रिय नै थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो । बुझिए अनुसार उनीसँग क्यानाडाको पाँच वर्षको भिसा समेत थियो । उनी हालै मात्र क्यानाडा गएर आएकी थिइन् । ४० जनाको टोली क्यानाडा गएकोमा अधिकांस उतै बसेका थिए भने ५-७ जना मात्रै फर्किएका थिए । फर्किनेमा दीपाशा पनि थिइन् ।
दिपाशाले व्यवसाय पनि गर्थिन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर चलाउँदै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने खुल्न सकेको छैन ।
स्रोतका अनुसार केही महिनाअघि उनको ब्रेकअप पनि भएको थियो । त्यसपछि उनी विक्षिप्त हुन थालेकी थिइन् ।
कलाकारिताभन्दा बाहिरका पुरुषसँग उनी प्रेममा थिइन् ।
दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन् । हिजो टिकटकमा उनले एउटा एकतर्फी प्रेमसम्बन्धी संवाद रहेको अडिओमा टिकटक बनाएर लेखेकी थिइन्, ‘बस पुग्यो अब सबै ।’
चार दिनअघि उनले फेसबुकमा यस्तो भावुक स्टाटस लेखेकी थिइन्ः
जिन्दगी त हाँसेर जिउने हो
सायद कहिलेकाहीँ कल्पनाभन्दा बाहिरको
आगमनले जिन्दगी तहस नहस बनाउने रहेछ
कहिलेकाहीँ समयले मान्छेको अनेक रुप देखाउँछ
बस अब कसैप्रति बिश्वास गर्ने छैन र
बारबार टुट्ने छैन
विश्वास, माया, अनि सबन्ध सबै फ्लिम मै ठीक छ
यथार्थमा जिन्दगीमा सहन गाह्रो छ सबै
केही दिनअघि उनले लेखेको अर्को स्टाटस थियोः
जीवन आफूभन्दा बढी महत्व कसैलाई नदिनु हो
यो संसारमा सबैभन्दा विश्वासिलो त
मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई
धोका दिएको छैन
Discussion about this post