Khabar Samachar

अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

209
VIEWS

गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई   घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार एउटा सिलिन्डर सुरूमा पड्किएको थियो। तर त्योसँगै अरू पनि पड्किएको हुनुपर्ने उनले बताए।

यद्यपि कतिवटा पड्किएको थियो भन्ने यकिन भइसकेको छैन। यस विष्फोटमा परी एक जनाको घटनास्थलमा मृत्यु भएको छ। ७ जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

‘यो ठूलो विष्फोट हो। विष्फोट अनुसार मृतकको संख्या एकदमै कम भएको देखिन्छ,’ एसएसपी पोखरेलले भने।

‘कतिवटा सिलिन्डर पड्किएको भन्ने नै थाहा भइसकेको छैन। सुरूमा सिलिन्डर एउटा पक्कै पड्किएको हो। त्यसले अरूलाई पनि पड्कायो। तीन-चार वटा सिलिन्डर पड्किएको हुनुपर्छ, त्योसँगै भेटिएका पाइपहरू पनि पड्किए,’ उनले थपे।

यस्तै मृतकको शव पनि टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको उनले बताए।

भुइँको सिलिन्डर ६० मिटरमाथि लगेर फालिएको अवस्थामा फेला परेको एसएसपी पोखरेलले बताए।

‘ठूलो सिलिन्डर ६० मिटरमाथि फालिएको अवस्थामा फेला परेको छ। दुई सय मिटरको रेडिएसनमा विष्फोट भएको जस्तो देखिन्छ,’ उनले भने।

काम गर्दा भित्र १० जना थिए। त्यसलाई पनि पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ । आज विहान करिव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित