नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै पनि राजनीतिक दलको धम्कीका कारण कांग्रेस नडराउने बताएका छन्।
काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै कोइरालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार संसदीय दल बैठकबाट दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै धम्कीबाट कांग्रेस नडराउने बताए।
‘सहकारीबारे कांग्रेसले सदनमा कुरा राखेको हो। यसबारे कुनै राजनीतिक दलबाट कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ। राजाको धम्कीसँग कांग्रेस डराएन, कुनै दलको धम्कीसँग हामी डराउँदैनौं,’ कोइरालाले भने।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।
उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको पनि बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर चित्त नबुझे कांग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरुले नमानेको कोइरालाको दाबी थियो । उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरु नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको बताए ।
नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने बताए । उनले राजनीतिक स्थायित्वपछि मात्रै आर्थिक र राजनीतिक विकास हुने बतए ।
Discussion about this post