नेपाली कांग्रेसले आफ्नो तर्फबाट कालिकोटको तिलागुफा नगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ।
गठबन्धन नगर्ने भन्दै तिलागुफा नगर कार्यसमितिको निर्णयअनुसार मेयरमा शंकरप्रसाद उपाध्याय र उपमेयरमा बसना सिंह शाही कांग्रेसले उम्मेदवारी दर्ता गराएको हो।
‘हामीले गठबन्धन नमान्ने र एक्लाएक्लै लड्ने भनेर यसअघि नै निर्णय नगर कार्य समितिबाट गरिसकेका थियौं, त्यही निर्णयअनुसार हामीले आज तिलागुफामा उम्मेदवारी दिएका हौं,’ नेता सत्यबहादुर शाहीले भने, ‘हामीले सिंगल लड्ने कुरा यसअघि नै जिल्ला र प्रदेश कार्यसमितिलाई पनि पत्र लेखेर जानकारी गराइसकेका थियौं।’
उनले नगरपालिकाका अरु ११ वटा वडामा पनि सर्वसम्मत रुपमा वडाध्यक्ष लगायतका उम्मेदवार चयन गरिसकिएको बताए।
०७४ सालको स्थानीय तह निर्वाचनमा तिलागुफामा नेकपा माओवादीले मेयर र उपमेयर जितेको थियो।
यता सुर्खेतमा भने गठबन्धन दलहरुबीच पालिकाको नेतृत्व भागबण्डा गर्ने विषयमा चार दिनदेखि छलफल चलिरहेको छ। बिहीबारबाट सुरु भएको छलफलको अहिलेसम्म निश्कर्ष निस्केको छैन।
Discussion about this post