प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ।  गठबन्धन चुनावसम्मै जान्छ ।’यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताए।  उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी कुराकानी भएको बताए ।  मोदीले चाँडै नेपाल भ्रमण गर्ने देउवाको भनाइ थियो ।  ‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ। तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ,’ प्रधानमन्त्री देउवाले भने, ‘तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ नेपालमा आउनुस् भनेँ उहाँ आउन तयार छु भन्नुहुन्छ। उहाँ नेपाल भ्रमणमा आउने मितिको कुरा भएको छैन ।’ 

यस्तै उनले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने भन्दै आत्तिन नपर्ने बताए । प्रधानमन्त्री देउवाले भने, ‘सहमति गरेर हामी एमसीसी हामी पास गर्छौं, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौं, आत्तिन पर्दैन भनेको छु ।’ 

आफूले सत्ता साझेदार दलहरुको बीचमा कुराकानी भइरहेको जानकारी गराएको भन्दै उनले भने, ‘छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन (हस्ताक्षर)  गरेरै पठाएका छौं ।’

देउवाका अनुसार एमसीसीकी डेपुटी सीईओले भने संसदको अधिवेशन किन अन्त्य गरेको त भनेर प्रश्न गरेकी थिइन् । त्यसले एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया प्रभावित हुँदैन भनेर प्रश्न गरेपछि देउवाले भने, ‘केही अध्यादेश ल्याउनुपर्ने भएकाले रोकिएको हो । यसले असर पर्दैन भनेँ ।’

जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत गएका प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेटेका थिए । बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग एमसीसी कहिलेसम्म पास हुन्छ भनेर चासो पाएको बताए ।

प्रधानमन्त्रीको स्वागतमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुगेका थिए । 

देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० मा भाग लिई आज स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय