Khabar Samachar

मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुने

205
VIEWS

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुनेछ । रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै आइतबार भोटो देखाउने जात्राको तयारी पूरा भएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए ।

ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ । प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै  ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन् ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । “भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने चलन छ”, आचार्यले भने ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।

यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो । करिब एक हजार ६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित