काठमाडौं- ललितपुर महानगरपालिकाका मेयर प्रत्यासी चिरिबाबु महर्जनविरुद्ध उजुरी परेको छ।
पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार रहेका महर्जनविरुद्ध २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्योट नगरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा विरोधको उजुरी परेको हो।
ललितपुर वडा नम्बर १८ का गोपाल डंगोलले उनको कार्यकालमा उक्त बेरुजु रहेको भन्दै उजुरी गरेका हुन्। महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै महर्जनको उम्मेदवारी रद्द हुनुपर्ने माग गरिएको छ।
त्यस्तै महानगरपालिकाकै वडा नम्बर ५ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका सञ्जीव पाण्डे राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी भई सरकारी सेवा सुविधामा हालसम्म एन्फा सातदोबाटोमा कार्यरत रहेको दाबी गर्दै उजुरी परेको छ ।
अर्को उजुरीमा ललितपुरकै हरिशरण तामाङले मतदाता नामावलीमा नामै नभएकी सिर्जना भुजेलको वडा नम्बर ९ बाट सदस्य उम्मेदवारी परेको भन्दै रद्द गर्न माग गरेका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा बेरुजु रहेका व्यक्तिले उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ । यद्यपि महर्जनले भने महानगरपालिकाको संस्थागत बेरुजु भए पनि आफ्नो व्यक्तिगत बेरुजु नरहेको बताएका छन् ।
Discussion about this post