दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउने भएका छन्। अमेरिकी स्टेट डिपार्टमेन्टले आज एक विज्ञप्ति जारी गर्दै सहायक मन्त्री लू नोभेम्बर १७ मा काठमाडौ आउन लागेको जनाएको हो ।अमेरिकी विदेश मन्त्रालयका अनुसार कात्तिक २९ मा माल्दिभ्सको राजधानी माले पुग्ने लु त्यहाँबाट काठमाडौं आउने लागेका छन्।

काठमाडौंमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका अन्य शीर्षस्थ नेताहरुलाई भेट्ने समेत उल्लेख छ । नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनले त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेट्ने भएका छन् ।अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेपछि काठमाडौं आउन लागेका लु उच्च कूटनीतिक अधिकारी हुन्। पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने कि नगर्ने भन्नेबारे राजनीतिक वृत्तमा विवाद छ।

संसदबाट अनुमोदन गर्नुपर्ने एमसिसी पास हुन ढिलाइ भइरहेका बेला हुन लागेको अमेरिकी सहायक विदेश मन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ।

यसअघि प्रधानमन्त्री देउवाले स्कटल्यान्डको ग्लास्गोमा भएको कोप-२६ का क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय