Khabar Samachar

केपी ओलीजीले झुटमाथि झुट बोल्नुभयो : काँग्रेस प्रवक्ता महत

206
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मतदातालाई अपिल गर्न भन्दै पत्रकार सम्मेलन गरी दिएका अभिव्यक्तिमाथि नेपाली कांग्रेसले आपत्ति जनाउँदै खण्डन गरेको छ।पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले ओलीले झुटमाथि झुट बोलेको बताए । आइतबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरी काँग्रेसमाथि प्रहार गरेपछि आज काँग्रेस प्रवक्ताले भने, ‘हामी झुटो राजनीति गर्दैनौं । केपी ओलीजीले हिजो झुटमाथि झुट बोल्नुभयो ।’आज सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि झुटा आरोप लगाएको बताए।‘हामीलाई नीति नभएको पार्टी रे। कांग्रेसकै नीतिको ब्याज र साँवासमेत खाने पार्टी एमाले हो,’  उनले भने, ‘ओलीजीले झुटो आरोपका पुलिन्दा लगाउनुभएको छ। झुटमाथि झुट।’उनले एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै आधार नरहेको पनि दाबी गरेका छन्। एमाले अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी कांग्रेस उल्टो बाटो हिँडेको आरोप लगाएका थिए।एमालेले नभएका कुरालाई पनि भएजस्तो गरी प्रचार गरेको आरोप कांग्रेसको छ।‘हामी एमालेजस्तो प्रचार गर्दैनौं। हामी यथार्थ धरातलमा राजनीति गर्छौं, झुटो राजनीति गर्दैनौं,’ महतले भने, ‘यही फरक एमाले र ओलीजी र हामीमा छ।’ एमाले समावेशीताको विरोधी भएको पनि कांग्रेसको आरोप छ।ओलीको व्यवहार र दृष्टिकोण स्थानीय तह कमजोर पार्ने खालको भएको महतले आरोप लगाएका थिए।‘ओलीका पालामा संसद विघटनलगायत काण्ड नै काण्ड भएका थिए,’ उनले भने, ‘गुठी विधेयक काण्डसमेत त्यही बेला भएको थियो। जनताले निर्माण गरेको संरचना भत्काउने काम ओलीजीको सरकारले गर्‍यो।’ओलीले प्रधानमन्त्री हुँदा संविधान र कानूनको धज्जी उडाएको पनि उनले बताए। ओली प्रधानमन्त्री हुँदा कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका खेलेको दाबी महतको थियो।ओलीले एमसिसीसमेत पारित गर्न नसकेको आरोप कांग्रेसको छ। ‘एमसिसी संसदबाट कसले पास गर्‍यो? कांग्रेसले गरेन?,’ उनले भने, ‘सडक र विद्युत प्रशारण लाइन बनाउन एमसिसी आएको कुरा जनताले बुझिसके।’ओलीले घरघरै ग्यास पाइपलाइन जोड्ने जस्ता कुरा मात्रै गरेको आरोप कांग्रेसको छ। ‘कल्पनामा त चन्द्रमामा पुगिन्छ। तर साँच्चिकै चन्द्रमा पुग्न त मेहनत गर्नुपर्छ,’ उनले भने, ‘परराष्ट्र नीति पनि कहिले यता कहिले उता फर्केजस्तो! कसैले विश्वास नै गर्न नसक्ने अवस्थामा उहाँले पुर्‍याउनुभएको थियो।’उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान गर्न आग्रह गरेको पनि बताए। ‘एमाले र कांग्रेस करिब करिब उस्तै अवधि सत्तामा रहेछौं तर उहाँले गलत तथ्यांक दिनुभयो,’ उनले भने, ‘पूर्वाधार सारा हामी गरेको भनेर उहाँ दाबी गर्नुहुन्छ तर त्यो त कांग्रेसले सुरूवात गरेको हो। उहाँ त नारा दिन सिपालु।’उनले कांग्रेसकै नेतृत्वमा वृद्धभत्ता पनि पाँच सयबाट मासिक हजार पुर्‍याइएको दाबी गरेका थिए। ओली प्रधानमन्त्री हुँदा वैदेशिक ऋण धेरै लिएको पनि कांग्रेसको आरोप छ।ओलीले सरकारमा हुँदा काण्डै काण्ड मच्चाएको  भन्दै आफ्नै पार्टीबाट गम्भीर आरोप खेप्नुपरेको कुरा पनि महतले स्मरण गराए । ‘ओलीको पालामा काण्डै काण्ड भए । भनिसाध्य छैन,’ उनले भने, ‘ओलीमाथि आफ्नै पार्टीबाट गम्भीर आरोप सचिवालयमा दर्ज भएको थियो । उहाँले काण्ड नमच्चाएको भए आफ्नै पार्टीबाट गम्भीर आरोप लाग्थ्यो ?’ ‘ओलीजीको पालामा देश ऋणमय भयो,’ उनले भने, ‘ऋण लिएर घ्यू खानेजस्तो भयो। जनताले घ्यू खान पाएनन् सीमित व्यक्तिले घ्यू खाए। ओलीजी प्रधानमन्त्री भइराख्या भए विदेशी ऋणमाथि ऋण लिने काम हुन्थ्यो। श्रीलंकाको बाटोमा जान्थ्यो। हामीले ऋण नलिने र लिए पनि कम ब्याजदरको लिने भनेको छ।’कोरोनाले मुलुक आक्रान्त हुँदा ओलीको सरकारको ध्यान कमिसनमा केन्द्रित भएको उनको भनाइ छ । ‘कोरोनाले मुलुक आक्रान्त हुँदा ओलीको सरकार कसले बढी कमिसन दिन्छ भनेर कुदिराख्नु भएको थियो । काँग्रेसको सरकार आएपछि खोपको सुनिश्चितता भयो । कोरोना भयावह स्थितिको अन्त्य भएको छ,’ उनले भने । ओली सबै कुराले असफल भएर सरकारबाट बाहिरिएको काँग्रेस प्रवक्ता महतको दाबी छ । ‘उहाँले सरकार चलाउन नसकेर दुई दुई पटक हात उठाएपछि काँग्रेसले मुलुक सम्हाल्नुपर्यो । उहाँका पार्टीका दुई घटक आए काँग्रेसलाई मुलुक सम्हालिदिनु पर्यो भनेर आउनुभयो, उहाँले ठूला कुरा गर्ने ?,’ महतको प्रश्न छ । यस्तै केपी ओलीको पालामा ऋण लिएर घ्यु खाने काम भएको उनको भनाइ छ । ‘घ्यु पनि जनतालाई होइन केही समितिले खाए,’ उनले भने, ‘केपी ओली अहिलेसम्म सरकारमा भएको भए नेपाल श्रीलंका भइसक्यो । नेपाललाई श्रीलंका पुराउने ओलीजीको योजना काँग्रेसले असफल पारेको छ ।’ओली सरकारले बिगारेको अर्थतन्त्र वर्तमान सरकारले सुधारिरहेको उनको दाबी छ । ‘अहिले हाम्रो सरकारले अर्थतन्त्र सुधार गरिरहेको छ । हाम्रो सरकार आएपछि अनुदान आएको आयै छ,’ उनी भन्छन्, ‘अमेरिका, भारत चीन, जापानले पनि अनुदान दिराख्नुभएको छ । नेपाली काँग्रेसको सरकार आएपछि अन्तराष्ट्रिय विश्वासको वातावरण बनेको छ । देश ऋणमुक्त हुने बाटोमा छ ।’ काँग्रेसले गरेको कामको ओलीले जस लिन खोजेको महतको भनाइ छ । ‘काम काँग्रेसले गरेको छ । जस उहाँले लिने ? काम गर्ने कालु मकै खाने भालु ?,’ उनको प्रश्न छ । ओलीले काम होइन ठूला ठूला गफ मात्र गरेको महतले बताए । ‘पानी जहाजको कार्यालय खुल्यो । उहाँको तस्बिर काठमाडौंमा टाँसियो । पानी जहाज आयो त ?,’ उनी भन्छन्, ‘पानी जहाज त कलकत्तामै छ । पूर्व पश्चिम रेल आयो ?काँग्रेस सरकारले कुरा होइन काम गर्ने उनको भनाइ छ । काँग्रेसले अब ६५ वर्षदेखि नै वृद्ध भत्ता दिने प्रतिबद्धता जनाएको उनले सुनाए । ‘सरदर आयु ७१ वर्ष छ । विपन्न समुदायका मान्छेको सदर आयु ७१ वर्ष छैन । उनीहरु वृद्धभत्ताबाट बन्चित छन् । त्यसैले हामीले ६५ वर्षमा वृद्ध भत्ता दिने प्रतिवद्धता छ ’ हामीले सुत्केरी सत्तास्वरुप ५ हजार दिने काँग्रेसको प्रतिबद्धता रहेको प्रवक्ता महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित