राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गरेका छन्।
संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पदमा महिला र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिलाको व्यवस्था सुनिश्चित गरिएको भन्दै उनले हाल राष्ट्रियसभाको अध्यक्षमा पुरुष र प्रतिनिधिसभाको सभामुखमा पनि पुरुष रहेको र महिला नियुक्त गर्नुपर्ने उपाध्यक्ष र उपसभामुख पद भने पूर्ति गर्न कसैले चासो नदेखाएको बताए ।
उनले भने, ‘म संविधान निर्माता पनि हुँ । हक हुन्छ कि मैले निर्माण गरेको संविधानका हरेक विषयमा त्यसको व्याख्या गर्ने अधिकार पाउँछु ।’ उनले राष्ट्रियसभामा उपाध्यक्ष नभएको चार महिना भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘प्रतिनिधिसभामा लाजमर्दो स्थिति भयो, झण्डै चार वर्षदेखि उपसभामुख छैन,’ उनले भने, ‘पुरुष अनिवार्य भनेको भए पाँच दिनमै त्यो पद पूर्ति हुने थियो ।’
मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए।
आफूले ज्येष्ठ सदस्य भएको नाताले एउटा समितिको अध्यक्षता गरिरहेको उल्लेख गर्दै उनले राष्ट्रियसभाको चार समितिमध्ये तीन वटामा सभापति नरहेको पनि चार महिनाभन्दा बढी भइसकेको स्मरण गराए । उनले भने, ‘संसद्मा रहेका पार्टीहरू, सरकारले त्यसमा ध्यान दिनुपर्ने हो । महिला माननीयहरूले आन्दोलन नै गर्नुपर्ने जस्तो लागेको छ ।’
Discussion about this post