Khabar Samachar

नारायणगढ–मुग्लिन हुँदै जाने सवारी साधन नवलपुरमै रोकिए

225
VIEWS

पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरूद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सडकमा सवारी साधन रोकिएका छन्।सोमबार राति  ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्र किलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।

ईच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना–३ कुरिनघाटमा बिहान ८:५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उनले बताए । पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।‘नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ’, उनले भने, ‘चितवनतर्फ सवारी साधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारी साधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौं।’

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ–मुग्लिन सडक हुँदै चल्ने बाहेकका सवारी साधनलाई भने गन्तव्यसम्म जान दिइएको बताए। आइतबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो ।  गएरातिदेखि नै सडक अवरुद्ध भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित