Khabar Samachar

कीर्तिपुरमा नगरबासीलाई उपचार गराउँदा ५० प्रतिशतसम्म र स्नातक पढ्न शत प्रतिशत छुट

214
VIEWS

कीर्तिपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा नगरबासीलाई विशेष छुट व्यवस्था गर्न सम्बन्धित पक्षसँग सम्झौता गरेको छ।

नगरपालिकाले कीर्तिपुर अस्पतालमा उपचार गराउन जाने स्थानीयबासीलाई उपचारमा ५० प्रतिशतसम्म छुट र सामुदायिक कलेजमा स्नातक तहका विद्यार्थीलाई शत प्रतिशत छुट व्यवस्था गरेको हो।

नगरपालिकाले आइतबार एक कार्यक्रमबीच अस्पताल र कलेजसँग सम्झौता गरेको हो।

नगरपालिकाले नगरबासी बिरामीहरूको उपचार गरेबापत् अस्पताल व्यवस्थापनका लागि आर्थिक वर्ष २०७९/८० का लागि ८० लाख रूपैयाँ बजेट पनि दिने निर्णय गरेको छ। यसको ५० प्रतिशत अहिले नै उपलब्ध गराउने सम्झौता भएको छ।

नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, प्रोसिडुअल, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ। क्याबिन, आइसियु, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुनेछ। यो सेवा सोमबारदेखि नै सुरू हुने सम्झौतामा उल्लेख छ।

भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन सक्ने सम्झौतामा उल्लेख छ। यसरी नगरबासीको उपचार गरेको सम्पूर्ण विवरण प्रत्येक महिना नगरको स्वास्थ्य शाखामा प्रतिवेदन पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

यसपछि हरेक तीन महिनामा दुबै पक्षका प्रतिनिधिहरू समीक्षा बैठकका लागि पनि बस्ने सम्झौता भएको छ।

यस्तै अस्पतालले बिरामी उपचारका लागि प्रतिव्यक्ति अधिकतम ६० हजार रूपैयाँ बहन गर्ने र सोभन्दा बढी खर्च भएमा अस्पतालको दोस्रो पक्ष, जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालले क्याबिनमा बाहेक २५ प्रतिशत छुट दिने पनि सम्झौता भएको छ।

केही कारणवश आर्थिक संकट हुन गएमा नगरपालिकाले समीक्षा गरी थप सहयोग समेत गर्न सक्ने जनाएको छ।

यसका लागि नगरबासीले नगरपालिकाले दिएको उपचार सहुलियत कार्ड पेस गर्नुपर्नेछ। उक्त कार्डको प्रयोग गरी काठमाडौं मोडल अस्पतालबाट पनि २५ प्रतिशत छुट लिन सकिने नगरपालिकाले जनाएको छ।

यो सम्झौताको अवधि पाँच वर्षसम्मको हो।

यस्तै नगरपालिकाले ‘एक घर एक स्नातक’ कार्यक्रम पनि सुरू गरेको छ। नगरपालिकाले यसनिम्ति मंगल बहुमुखी क्याम्पससँग सम्झौता गरेको हो।

स्थानीय विद्यार्थीले कलेजमा भुक्तानी गर्नुपर्ने मासिक पढाइ शुल्कमध्ये ६० प्रतिशत नगरपालिकाले बेहोर्ने र बाँकी ४० प्रतिशत कलेजले छात्रवृत्ति उपलब्ध गराई निःशुल्क शिक्षा उपलब्ध गराउने सम्झौता भएको हो।

यही आर्थिक वर्षबाट स्नातक प्रथम वर्षबाट छात्रवृत्ति कार्यक्रम सुरू हुने र चौथौ वर्षसम्म निरन्तरता दिइने सम्झौतामा उल्लेख छ। तर मासिक शुल्कबाहेक अन्य विविध अतिरिक्त शुल्क सहुलियतपूर्ण रूपमा कलेजले लिन सक्ने जनाएको छ।

आवश्यकताका आधारमा क्याम्पसले स्तरोन्नतिका लागि नगरपालिकामा कार्यक्रमगत सहयोगका लागि प्रस्ताव राख्न सक्नेछ। त्यस क्याम्पसमा अहिलेलाई मानविकी, व्यवस्थापन र शिक्षा संकायमा यो कार्यक्रम लागू गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित