Khabar Samachar

तोडफोड र आक्रमण गर्ने विद्यार्थीलाई रेष्टिकेट गर्ने त्रिविको चेतावनी

204
VIEWS

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिविमा तोडफोड र आक्रमण गर्ने विद्यार्थीमाथि कारबाही गरिने बताएका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आक्रमणमा संलग्न हुने विद्यार्थीहरूलाई त्रिविले हदैसम्मको कारबाही गर्ने बताए।

त्रिविको उपकुलपति कार्यालयमा केही दिनअघि नेविसंघले तोडफोड गरेको थियो। नेविसंघले त्रिविका विभिन्न निकायमा तालाबन्दीसमेत गरेको छ।

यसैबीच त्रिविले गृह मन्त्रालयसँग त्रिवि परिसरको भरपर्दो सुरक्षाका लागि आग्रहसमेत गरेको छ।

‘विश्वविद्यालय यसैगरी चल्दै जान दिने हो कि हामीले यसको सुरक्षा गर्ने हो? गृह र जनताका माझ हामीले अपिल गरिसकेका छौं,’ उपकुलपति बाँस्कोटाले भने।

विश्वविद्यालयमा नियमित पढ्ने विद्यार्थीबाट कुनै समस्या नरहे पनि राजनीतिक लाभ लिन खोज्ने विद्यार्थीहरूबाट भने समस्या रहेको उनको भनाइ थियो।

‘नियमित पढ्न आउने विद्यार्थीबाट समस्या र अवरोध छैन। राजनीति गर्न आउने र नजायज फाइदा लिन खोज्नेबाट त्रिविलाई अवरोध भइरहेको छ,’ बाँस्कोटाले भने, ‘क्याम्पस प्रमुख, विभागीय प्रमुखलगायत यो-योलाई नियुक्त गर भन्ने विद्यार्थीको क्षेत्राधिकारभित्र पर्दैन। तर विद्यार्थी राजनीति गरिरहेको र कुनै संगठनको सभापति छु भन्नेहरूले अवरोध गरिरहेका छन्।’

उनले त्रिविमा अवरोध गर्ने विद्यार्थीलाई कारबाही गरिने चेतावनी दिए। ‘त्यस्ता विद्यार्थीलाई कारबाही गर्न सकिन्छ। अप्रिय निर्णय लिन विश्वविद्यालय बाध्य हुन्छ। आक्रमणलगायतमा उत्रने विद्यार्थीलाई रेष्टिकेट गरिन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित