काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ । सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ ।
तर कति विद्यालयले आफ्नो सम्पत्ति बहालमा लगाएका छन् भन्ने विवरण महानगरपालिकासँग छैन । महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ५९ माध्यामिक र ३० वटा आधारभूत विद्यालय छन् । ४/५ वटा आधारभूत र २० वटा माध्यमिक विद्यालयले सम्पत्ति बहालमा लगाएर आम्दानी गरिरहेको महानगरपालिकाको अनुमान छ ।
महानगरपालिकाको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले सम्पत्ति बहालमा दिने विद्यालयहरुको तथ्यांक संकलन गरिरहेको बताए ।
सम्पत्ति बहालमा लगाउने विद्यालयमा काठमाडौं ठमेलको जुद्धोदय मावि पनि एक हो । उसले २०६५ सालमा बनेको उत्तर पूर्वतर्फको पाँच तले भवन भाडामा दिएको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेल भन्छन् ‘हामीले ठेकेदारलाई लिजमा दिएका छौं, महानगरले हामीसँग होइन, ठेकेदारसँग मागेको होला ।’
बाँसबारीस्थित बाँसबारी माविले पनि पाँच वटा सटर भाडामा लगाएको छ । सडकसँगैका कक्षाकोठामा गाडीको आवाजले पठनपाठन गराउन समस्या हुने भएपछि सटर बनाएर भाडामा लगाएको प्रधानाध्यापक अनिल झाले बताए ।
महानगरपालिकाले बहाल कर तिर्न सूचना जारी गरेको जानकारी पाएको तर पत्र नपाएको उनले बताए । ‘विद्यासुन्दर शाक्य मेयर हुँदा बहाल करबारे छलफल भएको थियो । सम्पत्ति बहालमा दिएका विद्यालयबाट कर उठाई कमजोर विद्यालयहरुको लागि प्रयोग गर्ने कुरा भएको थियो’ उनले भने । महानगरपालिकालाई बहाल कर तिर्न कुनै समस्या नभएको प्रधानाध्यापक झाले बताए ।
प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यमिक विद्यालयले भने धेरै वर्षदेखि बहाल कर तिर्दै आएको बतएको छ । प्रधानाध्यापक नारायण गौतम भन्छन्, ‘महानगरले सूचना जारी गरेको छ । तर हामीले त वडा कार्यलयमा बहाल कर तिर्न थालेको धेरै भयो ।’
रत्नराज्य माध्यमिक विद्यालय, पद्मकन्या माध्यामिक विद्यालय, पशुपति मित्र माध्यामिक विद्यालय लगायतले पनि आफ्नो सम्पत्ति बहालमा लगाएका छन् ।
Discussion about this post