Khabar Samachar

समानुपातिक सूची नसच्याए कोइराला पक्षले निर्वाचनमा गठबन्धनलाई असहयोग गर्ने

214
VIEWS

चुनावी तालमेलका कारण किनारामा पर्ने त्रासमा रहेको नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षमा आक्रोश चुलिएको छ । यो पक्षका नेता गुरुराज घिमिरेले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने चेतावनी दिए ।

मोरङ–४ बाट उम्मेदवारको आकांक्षी रहेका उनी सत्तारुढ गठबन्धनको छलफलमा उक्त क्षेत्र माओवादी केन्द्रको भागमा पर्ने थाहा पाएपछि प्रचण्डविरुद्ध खनिएका छन् । ‘हाम्रो भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न किन नजाने ? उहाँले हाम्रो भाग खोस्नुहुन्छ । हामीले उहाँसँग प्रतिस्पर्धा गर्छौं’, घिमिरेले पत्रकारहरुसँग भने ।

पूर्व सहमतिविपरीत संस्थापन पक्षले आफूनिकट अधिकांश नेताहरुको नाम बन्द सूचीमा राखेपछि कोइराला पक्षमा असन्तुष्टी देखिएको हो।

कांग्रेसको १४ औँ महाधिवेशनपछि देखिएको गुटबन्दीको असर बढ्दै जाँदा समानुपातिक बन्द सूची नसच्चाए चुनावमा असहयोग गरेर जाने कोइरला पक्षले चेतवनी दिएको छ।

कोइराला पक्षका प्रदेश १ का नेताहरुका अनुसार समानुपातिकको सूचीमा कम्तिमा ४० प्रतिशत आफूहरुका नेतारुको नाम राख्ने सहमति भएको थियो। ४० प्रतिशतको सहमति भए पनि कम्तिमा ३० प्रतिशत कोइराला पक्षका नेताहरुलाई सूचीमा राखिए स्वीकार गर्ने रणनीति उनीहरुको थियो।

तर सार्वजनिक भएको सूचीमा २० प्रतिशत पनि नपरेपछि कोइराला पक्षका नेताहरु असन्तुष्ट बनेका छन्।

सार्वजनिक भएको सूचीअनुसार लिलाकुमारी राई, शिला इजम, विदुर बस्नेत, केदार बाँस्कोटा, देवराज तामाङ र चन्द्र लिम्बू मात्रै कोइराला पक्षका हुन्।

३७ जनाको बन्द सूचीमा अरु देउवा, सिटौला र विजय गच्छदारनिकट नेताहरु परेका छन्।

सिटौला र गच्छदारसमेत देउवा समूहमा रहेकाले कोइराला पक्ष असन्तुष्ट बनेको छ।

असन्तुष्ट नेता तथा कार्यकर्ताहरु सूची सच्याउन दबाब दिने उद्देश्यले काठमाडौं जाने क्रम बढेको छ।

प्रदेश १ मा महामन्त्री तथा उमेश थापाले बन्दसूचीमा आफूहरुको असहमति रहेको बताए। उनले भने, ‘हामीसँग भएको सहमतिअनुसार कार्यान्वयन भएन। सूची सँच्चिनेमा आशावादी छौँ।’

महामन्त्री थापाले सूची सच्याउने म्याद अझै रहेकाले अहिले नै यसै गरेर जाने अवस्थामा आफू पुगिनसकेको बताए। उनले नेता तथा कार्यकर्ता असुन्तुष्टि लिएर आउने गरेको बताए।

शेखर पक्षको असन्तुष्टिले कांग्रेसभित्रको राजनीतिमात्र तरंगित भएको छैन । पार्टीभित्र न्यायोचित व्यवहारको माग गर्दै बुधबार पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको शेखर पक्षले सत्तारुढ गठबन्धनमा रहेका अरु दललाई पनि असहयोग गर्ने बताएको छ । पार्टीले टिकट नपाएको क्षेत्रमा शेखर पक्षका केही नेताले स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन् भने कतिपयले असहयोग गर्ने बताएका छन् ।

सत्तारुढ पाँच दलमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँटको छलफल चलिरहँदा त्यसको प्रत्यक्ष असर आफ्नो समूहमा पर्ने संकेत शेखर पक्षले पाइसकेको छ । सिट बाँडफाँटमा पार्टीले पाएको हिस्सेदारीमा सभापति शेरबहादुर देउवाले संस्थापन इतरलाई महत्व नदिने उनीहरुको बुझाइ छ । त्यसैले उनीहरु आफ्नो पार्टीसँगै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलका नेताहरुविरुद्ध पनि बोल्न थालेका छन् ।

कांग्रेसभित्रको आन्तरिक समस्याले ल्याउने परिणामको भागीदार गठबन्धनका उम्मेदवार समेत हुने उक्त पक्षले चेतावनी दिएको छ । पार्टीभित्र न्यायोचित भागवण्डा हुन नसके गठबन्धनका शीर्ष नेताका क्षेत्रमा विद्रोही उम्मेदवारी दिने तयारी समेत रहेको शेखर पक्षका एक नेता बताउँछन् ।

‘कांग्रेसका उम्मेदवार भएको ठाउँमा मत खसाल्न कार्यकर्तालाई अपिल गर्छौं । प्रचारमा पनि खटिन्छौं’, शेखर पक्षका एक नेता भन्छन्, ‘गठबन्धन उम्मेदवार भएका ठाउँमा निष्क्रिय बस्छौं ।’ कांग्रेसकै बलमा चुनाव जित्न खोज्ने गठबन्धनका शीर्ष नेताहरु भएको स्थानमा भने विद्रोही उम्मेदवार खडा गर्ने उनले दाबी गरे ।

शेखर पक्षका नेताले तालमेल विना माओवादी केन्द्रले ८ र नेकपा एकीकृत समाजवादीले १ सिटमात्र जित्न सक्ने दावी गरेका छन् ।

तालमेल गर्दा १०० क्षेत्रको दाबी गर्दै आएको शेखर पक्षको अडान संस्थापन पक्षकै कारण कमजोर भएको छ । कांग्रेसले ८५ हाराहारी क्षेत्र लिएर सत्तारुढ गठबन्धनमा सहमति खोज्न कांग्रेसका नेताहरु लागिरहेका छन् ।

सिट बाँडफाँटमा पार्टीले पाउने क्षेत्र घटेसँगै आफ्नो पक्षले कम क्षेत्र पाउने शेखर पक्षले बुझिसकेको छ । त्यसैले पाएको सिटमा समान र न्यायोचित अवसरको मुद्धालाई प्राथमिकताका साथ उठाउन थालेको छ । ‘४० भनेर ४० प्रतिशत नै हुनुपर्छ भन्ने होइन, न्यायोचित हुनुप¥यो’, शेखर पक्षका नेता घिमिरेले भने, ‘त्यसमा ४/५ प्रतिशत तलमाथि हुनसक्छ । तर, न्यायोचित हुनुपर्छ ।’

शेखर पक्षका कतिपय नेताहरु कम्युनिस्ट शक्तिहरु विभाजित भएको बेला कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने मत पनि राखेका छन् । संस्थापन पक्षका केही नेताहरु समेत यो तर्कमा सहमत छन् । तर, सार्वजनिक रुपमा उनीहरु बोल्न चाहँदैनन् । शेखर पक्षका नेताको क्षेत्र सिट बाँडफाँटमा अरु दलको भागमा पारिएको समेत उनीहरुको आरोप छ ।

तालमेलले गर्दा कांग्रेसनमा नेताहरुको व्यवस्थापन कठिन बनेको छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ जनाले टिकट पाउँथे । केन्द्रमा देउवा पक्षको उम्मेदवार भए प्रदेशमा शेखर पक्षलाई अवसर हुने थियो । अथवा, केन्द्रमा शेखर पक्षको उम्मेदवार बनेको अवस्थामा प्रदेशमा देउवा पक्षले अवसर पाउने थिए ।

त्यसका कारण पार्टी भित्रको असन्तुष्टि कम गर्ने एउटा विकल्प थियो । तालमेलले गर्दा केन्द्रमा कांग्रेसको उम्मेदवार हुँदा प्रदेशमा गठबन्धनका अन्य दललाई छोड्नुपर्ने हुन्छ । त्यसो हुँदा कांग्रेसको एक पक्षका नेताकोे व्यवस्थापन हुन नसक्ने शेखर पक्षको मत छ ।

समानुपातिक पद्धतिको बन्दसूचीमा पनि आफू पक्षका नेताहरु थोरै मात्र समेटिएको र उनीहरु पनि क्रम संख्याको पछाडि रहेको निष्कर्ष निकालेको संस्थापन इतर पक्षले प्रत्यक्षतर्फ पनि पेलिने आकलन गरेको छ ।

समानुपातिकको बन्द सूचीमा ११० जनाको नाम समावेश गर्दा शेखर पक्षका १३ जनाले मात्रै स्थान पाएका छन् । ‘असोज ३ मा बुझाएको बन्दसूची परिमार्जन नहुने हो भने हाम्रो पक्षका १३ जनामा एक जना पनि सांसद हुने अवस्था छैन’ शेखर पक्षका एक नेताले भने ।

असन्तुष्टि मत्थर गर्ने विकल्प समेत कांग्रेसमा साँघुरिँदै गएको छ । परिणामतः तालमेलकै विरुद्धमा कांग्रेसकै नेताहरु लाग्ने डर यथावत रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित