Khabar Samachar

मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइदै विजया दशमी

204
VIEWS

नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरी टीका लगाइएकाे छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ र टिका लगाइन्छ। देवी विसर्जनका लागि बिहान १०ः३४ बजेको साइत शुभ थियो भने टीकाकाे साइत बिहान ११ बजेर ५१ मिनेटमा थियाे।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।

आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

दसैँंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशीर्वचन विशेष महत्व छ ।

दसैँ हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा छ । घरमा टीका लगाएपछि ससुराली, मामाघर या आफूभन्दा मान्यजनकोमा पुगेर टीका र आर्शीवाद थाप्न आज दिनभर निकै दौडधूप हुने गर्दछ ।

नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । तर, अरु भू–भागमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित