Khabar Samachar

एकादशी व्रत

202
VIEWS

एकादशी व्रत

एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।

‘एकादशी’ तिथिको शास्त्रीय महत्त्व

सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौँ तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको ‘हरिदिवस’ र ‘हरिवासर’ पनि भन्दछन्। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-

अ. वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु।

आ. समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।

इ. शरीरमा विद्यमान चैतन्यको गति ‘ऊर्ध्व’ अर्थात् माथिल्तिर प्रवाहित हुनु।

ई. व्रत सम्पादन गर्न सजिलो हुनु।

उ. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।

‘एकादशी’ व्रतको महत्त्व

एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-

अश्वमेधसहस्राणि राजसूयशतानि च ।

एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।[१]

यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धति अनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ। मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ। प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन। यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।

एकादशीका प्रकार

प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।

वर्षभरिका एकादशीका नाम

  • चैत्रमास- पापमोचनी एवं कामदा एकादशी।
  • वैशाख मास- वरुथिनी एवं मोहिनी एकादशी।
  • ज्येष्ठ मास- अपरा एवं निर्जला (भीमसेनी) एकादशी।
  • आषाढ मास- योगिनी एवं शयनी एकादशी।
  • श्रावण मास- कामिका एवं पुत्रदा एकादशी।
  • भाद्रपद मास- अजा एवं पद्मा एकादशी।
  • अश्विन मास- इंदिरा एवं पापांकुशा एकादशी।
  • कार्तिक मास- रमा एवं प्रबोधिनी एकादशी।
  • मार्गशीर्ष- मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी।
  • पौष मास- सफला एवं पुत्रदा एकादशी।
  • माघ मास- षट्तिला एवं जया एकादशी।
  • फाल्गुन मास- विजया तथा आमलकी एकादशी।
  • पुरुषोत्तम वा अधिकमास- पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित