वर्षाको त्यो दिउँसो काठमाडौंको पुरानो बानेश्वर चोक नजिकैको सानो चिया पसलमा पानीबाट बच्न दुवै जना उभिएका थियौं।
म झोला बोकेर अफिसबाट फर्किंदै थिएँ, ऊ किताब हातमा लिएर बस स्टप निरको चिया पसलमा उभिएकी थिई।
“एउटा चिया दिनुहोस्,” हामी दुवैले एकैचोटि भनेपछि हाँसेका थियौं।
“दोबाटोमा भेट भयो जस्तो लाग्यो,” मैले हल्का मजाकमा भनें।
उसले मुस्कुराउँदै भनी, “जीवन नै दोबाटोहरूको सङ्गम हो नि सर । कहिले कता मोडिन्छ, थाहै हुँदैन।”
त्यसपछि कुरा खुल्यो। उसको नाम रिया थियो, बीए अन्तिम वर्ष पढ्दै थिई। मलाई किताब मन पर्ने कुरा थाहा पाएपछि उसले आफ्नो हातको ‘परदेशी’ उपन्यास देखाई।
“यो पढ्नुभयो?” उसले सोधी।
“हो, पढें। अन्त्यमा अलि दुःख लाग्यो,” मैले भनें।
“मलाई पनि। तर जीवन त त्यस्तै हो नि – मिल्छ, बिछोडिन्छ, फेरि सम्झना बाँकी रहन्छ,” उसले गहिरो सास फेरिन्।
एक घण्टा बितिसकेको पत्तै भएन। वर्षा रोकियो, तर हामी छुट्टिन मन लागेन।
मैले नम्बर मागें, उसले दिई। “फेसबुकमा पनि छु,” भन्दै मुस्कुराई।
त्यो रात मैले मेसेज पठाएँ – “आजको चिया र कुराकानीले दिन नै फरक बनायो। फेरि भेटौंला ?”
उसले रिप्लाई गरिन् – “हो सर , फेरि भेटौंला नि । तर म भोलि बिहानै गाउँतिर जाँदैछु। एक हप्ता दिनपछि फर्किन्छु।”
त्यो दिन घर फर्केर पनि मन शान्त भएन। चिया पसलको त्यो छेउ, किताब बोकेकी रियाको मुस्कान, “फेरि भेटौंला” भन्दै हात हल्लाएको दृश्य – सबै आँखामा नाचिरह्यो।
मैले फेसबुक खोलें, उसको प्रोफाइल हेरे। पुरानो फोटोहरूमा पनि त्यही हाँसो र विभिन्न रंगिन फोटाहरु,कजेजका साथीहरु तर परिवारका फोटाहरु थिएनन।
“राति ११ बजेपछि कल गर्छु,” मैले सोचें। तर कल गर्न मन लागेन, सायद डर लाग्यो – जवाफ नआउने हो कि भनेर।
रात पर्यो। ओछ्यानमा पल्टें, तर निद्रा लागेन। आँखा चिम्लें, तर ऊ नै देखिन् – वर्षाको छेउमा उभिएकी, किताब हातमा, आँखामा त्यही हराएको भाव र हसिलो अनुहार।
सपनामा हामी फेरि त्यही चिया पसलमा थियौं। फिल्मको पर्दा मा दृश्य परिबर्तन भए जस्तै भै रहे।
उसले भनी, “सर , म परिबन्दमा परे, म त गाउँ गएकी थिएँ, तर फर्किन सकिनँ। परिवारले बिहे गराइदियो।”
मैले सोधें, “किन नम्बर अफ भयो ?”
उसले मुस्कुराई, “सायद मेरो नयाँ जीवनमा तपाईंलाई ठाउँ थिएन। तर माया भने बाँकी नै छ।”
सपनामा मैले उसको हात समातें। न्यानो थियो, तर चिसो पनि।
“फेरि भेटौंला ?” मैले भनें।
उसले भनी, “भेट त दोबाटोमा मात्र हुन्छ नि। जीवनमा फेरि आउँदैन। तर सपनामा आउँछु, हरेक रात।”
अचानक आँखा खुल्यो। एसो ह्रेरेको फोन आएको रहेछ । कोठा अँध्यारो थियो। घडीले ३:१५ देखाइरहेको थियो।
मैले फोन हेरे – कुनै मेसेज छैन,मन डरायो,आत्तियो । जिन्दगीका सपनाहरु बुनेर सुतेको मान्छेमा सपनाले नै सपनामै सपना समाप्त पारि दियो।
तर मनमा एउटा कुरा स्पष्ट भयो – ऊ वास्तविक जीवनमा हराइसकी, तर मेरो सपनामा भने हरेक रात आउँछिन्।
आज पनि त्यही दोबाटोमा उभिन्छु। चिया माग्छु, किताब बोकेकी केटी खोज्छु। भेटिँदिनन्। १० दिन बिते। २० दिन बिते। मेसेजको जवाफ आएन। कल गरे पनि नम्बर स्विच अफ। फेसबुकमा पनि इनएक्टिभ।
मलाई लाग्यो – सायद उसले नयाँ बाटो रोजिसकी। सायद उसको जीवनमा अर्को कोही थियो, वा परिवारको दबाब थियो।
आज पनि त्यही चिया पसल अगाडि उभिन्छु कहिलेकाहीं। वर्षा पर्छ भने चिया माग्छु। किताब बोकेकी केटी खोज्छु।
तर ऊ भेटिँदिन।
दोबाटोमा भेटिएको माया
दोबाटोमै हरायो।
कुनै गुनासो छैन,
किनकि साँचो माया त त्यस्तै हुन्छ –
आउँछ, छुन्छ, हृदयमा अमिट छाप छोड्छ,
अनि बाटो फरक पारेर जान्छ।
तर सम्झना भने सधैं त्यही दोबाटोमा उभिरहन्छ।
शिशिर राज पाण्डे































Discussion about this post