समाजसेवी राधादेवी शर्मा चालिसेको जीवनी ‘समय चक्र’ विमोचन गरिएको छ । सर्वोच्च अदालतकी न्यायाधिश सपना प्रधान मल्लको प्रमुख आतिथ्यमा राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गरी चालिसेको जीवनी सार्वजनिक गरिएको हो ।
राधादेवी शर्मा चालिसेको सिङ्गो जीवनलाई शब्दमा समेटेर किताबको रुपमा प्रकाशित गरिएको छ ।
कार्यक्रममा सामाजिक कार्यकर्ता तथा एबीसी नेपालकी अध्यक्ष दुर्गा घिमिरे, अधिकारकर्मी तथा सञ्चारकर्मी वन्दना राणा, प्राध्यापक डाक्टर विद्यानाथ कोइराला, पूर्व सूचना आयुक्त यशोधा तिम्सिनाले किताबमाथि टिप्पणी गरेका छन् ।
किताबको सम्पादकसमेत रहेकी तिम्सिनाले एउटी प्राध्यापक तथा समाजसेवीले कतिसम्मको पीडा र कष्ट भोगेर आफ्नो जीवनको लक्ष्य हासिल गर्नुपर्यो भन्ने कुराको जानकारी सबैले पाउन् भन्ने उद्देश्यले चालिसेलाई घच्घच्याएको बताइन् । उनले भनिन्, ‘चारभञ्ज्याङ काटेर आएका म जस्तोलाई यहाँ जन्मिएका मानिसहरुको जीवन स्वर्गको अप्सराको जस्तै हुन्छ कि जस्तो लाग्थ्यो सुरुसुरुमा । तर बुझ्दै जाँदा सोचेजस्तो हुँदैन रहेछ । राधा दिदीको जीवनमा चिहाउने प्रयास गर्दा उहाँको जीवनको उतारचढाव, उकाली ओराली, अप्ठ्यारा बाटा, गोरेटो, घोडेटो, त्यसपछि आफैँले पिच गरेको बाटो, यहाँसम्म आइपुगेको जीवन देखेर मलाई लाग्यो, यो कुरा उहाँसँग मात्रै सिमित हुनुहुँदैन । ’
कार्यक्रमकी प्रमुख अतिथी सपना प्रधान मल्लले राधालाई आफ्नो नीजि जीवनको पाटो खोल्न आँट गरेकोमा बधाई दिएकी छिन् । उनले भनिन्, ‘धेरै किताबहरु मानिसले आफ्नो पेशागत जीवनसँग जोडेर लेखेका हुन्छन् । धेरै कमले आफ्नो जीवनको त्यो पाटो, जो अत्यन्त नीजि हो, अत्यन्त संवेदनशील हो, त्यो पाटोलाई यो किताबले उजागर गरेको छ । पीडाहरु व्यक्त गर्नुपर्छ । आफूमाथिको विभेद, आफूमाथिको दुर्व्यवहार, आफूमाथिको हिंसा, आफ्नो व्यक्तिगत अनुभवहरुलाई उजागर गर्ने चुनौती जुन लिनुभएको छ, त्यो साहसको लागि पनि म राधा दिदीलाई बधाई दिन चाहन्छु ।’
प्राध्यापकको रुपमा अवकाश पाइसकेकी राधा शर्मा चालिसेले समय चक्रले नै आफूलाई जीवनी लेख्न उत्प्रेरित बनाएको बताएकी छिन् ।
जीवनी लेख्ने क्रममा आफ्नो दाम्पत्य जीवनबारे लेख्न नचाहने पो हो कि भन्ने चिन्ताबीच राधाले ‘त्यो च्याप्टर नै मैले लेखिनँ भने मेरो हरेक स्टोरीको टुङ्गो नै लागेन नि । मैले आइए पास गरेँ, मैले एम ए पास गरेँ, मैले क्याम्पस पढाएँ, म विदेश घुमेँ, त्यो त धेरैले गरेका छन् । मैले जे भोगेँ, त्यो सबै बेलिबिस्तार लगाउँछु ’ भनेर निर्णय लिएको बताइन् ।
किताबलाई घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो । यसको मूल्य पाँच सय तोकिएको छ । किताबबाट आएको सम्पूर्ण रकम सामाजिक कार्यमा लगाउनेसमेत चालिसेले कार्यक्रममा घोषणा गरेकी छिन् ।
Discussion about this post