अमेरिकी राष्ट्रपति जो बाइडेनले बिदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नेपालका लागि नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।
२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको ह्वाइटहाउसले उल्लेख गरेको छ।
उनी सेप्टेम्बर १५, २०२१ यता अमेरिकी बिदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थिए। उनको औपचारिक नियुक्त प्रकृया पुरा हुन केही महिना लाग्नेछ।
थम्पसन अमेरिकाको दक्षिण तथा मध्य एसिया नीति निर्माण तथा कार्यान्वयनमा संलग्न अधिकारी हुन्। चीनसँग नेपाल मामिलालाई लिएर तनाव सिर्जना भएका बेला अमेरिकाले आफ्ना बरिष्ठ कुटनीतिज्ञ नेपाल पठाउन लागेको हो। खासगरी अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर वासिङ्टन र बेइजिङबीच सार्वजनिक रुपमा भनाबैरी भएको एक महिनापछि अमेरिकी बरिष्ठ कुटनीतिज्ञ नेपालका लागि राजदूतमा प्रस्तावित भएका हुन्।
Discussion about this post