नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्।सामुदायिक रेडियो प्रशारक संघ अकोराबको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीले नागरिक तर्साउनतिर नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए ।आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको पनि थापाले भने।
‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ,’ थापाले भने, ‘एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ। दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस्।’
कुर्सीमा बसेको प्रधानमन्त्री नै डराउनपर्ने अवस्था सिर्जना भएको भन्दै थापाले अघि भने, ‘मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने? डराउनुस्। कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ। प्रधानमन्त्री डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ।’
महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।
भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भुमिका महत्वपूर्ण हुने उनले स्पष्ट पारे।
Discussion about this post