Khabar Samachar

भक्तपुर–नगरकोट सडकको ठेक्का सम्झौता रद्द

202
VIEWS

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरू भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य ८ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ।

२०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते यो सडकको पहिलो ठेक्का सम्झौता भएको थियो। तर जम्मा १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो।

गत फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त सडकखण्डको प्रत्यक्ष अनुगमन गरेका थिए। त्यो बेला मन्त्री श्रेष्ठले एक महिनाभित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो।

यो सडक शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त रूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो। अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न १४ दिने सूचना जारी गरेको हो।

सडक ठेक्का पाएको शैलुङ र अराभलीविरूद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको छ।

अन्तिम पटक भन्दै गत फागुन महिनाभित्र निर्माण सक्ने गर्ने गरी म्याद थप गरे पनि काम अगाडि नबढेको र निर्देशनालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको छ।

सडक विस्तारको काम सुरू भएको नौ वर्ष बित्दा चार–पाँच वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ। ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्मे र खल्डैखाल्डो छ। २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भए पनि ३१ करोड पुर्‍याइएको यो सडकको डिजाइन परिवर्तन भएको थियो। अन्तिमसम्म आइपुग्दा यसको रकम २८ करोडमा झरेको थियो।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङ सडक बन्न थालेको नौ वर्षमा पनि नसकिँदा पर्यटन व्यवसाय धरापमा परेको बताउँछन्। कोरोनापछि लयमा फर्किँदै गरेको पर्यटन व्यवसाय सडकको जीर्ण अवस्थाले धरापमा परेको उनको भनाइ छ। वर्षामा हिलो र हिउँदमा धूलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती बेहोर्नुपरेको उनले बताए।

सडक निर्माण अलपत्र पर्दा यहाँको पर्यटन व्यवसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको भन्दै काम गर्न नगर्नेको ठेक्का सम्झौता रद्द गर्न निकालेको सूचना सकारात्मक रहेको उनले बताए।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षाैंदेखि जनताले आन्दोलन गरे पनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडा नबुझेको बताए।

‘स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक सडक बन्द गराएर दबाब दिए पनि निर्माण व्यवसायीले उल्टै धम्क्याए,’ उनले भने।

नगरकोटवासी र व्यवसायीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका वडा नम्बर  ६ र ७ का वडाध्यक्षहरुले असारमा तीन दिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए।

शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले भने बीचबीचमा रूख कटान, विद्युत पोल सार्न समस्या आएको र भूकम्पका कारण केही ढिलाइ भएको र ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्छन्। उनले मन्त्री श्रेष्ठसँग अनुगमनका क्रममा अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न नसके फेरि पनि म्याद थपिदिनुस् भन्दै नजाने र सरकारले जुनसुकै कदम चाले पनि स्वीकार गर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित