Khabar Samachar

अहिलेको टालटुले प्रणालीले कुनै गतिलो परिणाम दिँदैन – पूर्वराजा ज्ञानेन्द्र शाह

205
VIEWS

पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन देखाउनकै लागि भएको अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम नदिने बताएका छन्।सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजाले अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने जिकिर गरे ।

शाहले तन-मन र धनमा लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको बताएका छन् । परिवर्तन देखाउने नाममा अहिलेको कोरा र सतही खेल, आलटाल र टालटुलको प्रणालीले खँदिलो परिणाम दिन नसक्ने उनको टिप्पणी थियो ।

शाहले भने, ‘अहिले त्यत्ति परिवार, समूह, दल, गुट, उपगुटमा अल्झिएर प्रणाली चलिरहेको छ । यसले हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्दैन ।’

यही पाराले राष्ट्रियता र एकताको रक्षा गर्न नसकिने पनि उनको भनाइ थियो । शाहले राष्ट्र, राष्ट्रियता, स्वाभिमान अखण्डता र सार्वभौमिक स्वतन्त्रता कायम गर्नुपर्ने बेला आएको बताए । सुशासन र शान्तिको माध्यमबाट चौतर्फी विकासको बोटमा लाग्नुपर्नेमा जोड दिए ।

‘राष्ट्र नै हाम्रो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन् । यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो,’ उनले भने, ‘त्यसैले व्यक्ति, परिवार, समूह, गुट र उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ ।’

शाहले आफूलाई अभिनन्दन गरिएकोप्रति आभार प्रकट गरेका थिए । यसबाट देशको माया, चिन्ता र चासो प्रस्तुत भएको उनले बताए ।

नागरिक अभिनन्दन कार्यक्रम कोशी र मधेसबाट सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लागेको थियो । कार्यक्रममा सहभागीहरूले गणतन्त्रको विरोधमा समेत नाराबाजी गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठ

उपस्थित दीदीबहीनी तथा दाजुभाइहरु,
सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईंहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकांक्षा तथा आवश्यकताहरुलाई औँलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधैँ राम्रो लाग्छ, हामीलाई सधैँ प्यारो लाग्छ। राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघाध प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ। तपाईंहरुले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौं। आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन।कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ।परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिँदैन।

निश्चयपनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चयपनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चयपनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु
छ।
राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो।आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो।त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झीएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ।तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुदै जावोस।
धन्यवाद। जय नेपाल।
सुनसरी, इनरुवा, चैत्र २०, २०७९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित