काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनअगाडि फेरि अर्का व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। शरीरमा आगो लगाएर ज्यान दिन खोज्ने ती व्यक्तिलाई तत्कालै प्रहरीले जोगाएको छ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले आत्मदाह प्रयास गरेका एक युवकलाई बचाइएको जानकारी दिए।
उनका अनुसार आत्मदाह प्रयास गरेका युवकको पहिचान खुलिसकेको छैन। तर उनले पारिवारिक तनावका कारण आत्मदाह प्रयासो गरेको प्रारम्भिक विरण आएको कार्कीले बताएका छन्।
कार्कीका अनुसार ती युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका खुलेको छ।
‘पारिवारिक कारणले आत्मदाह गर्न खोजेको देखिएको छ’, कार्कीले भने, ‘सम्झाएर उनलाई परिवारको जिम्मा लगाउँदै छौँ।’
यसअघि संसद भवनअगाडि गत माघ १० गते आत्मदाह प्रयास गरेर जलेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको थियो।
गत माघ १० मा राष्ट्रिय सभामा सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडी निस्किएकै समयमा पेट्रोल हालेर आचार्यले आत्मदाह प्रयास गरेका थिए।
शरीरको ८० प्रतिशत भाग जलेका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो।
Discussion about this post