Khabar Samachar

जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउ – डा. विश्व पौडेल

203
VIEWS

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले चितवनका जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउन आह्वान गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै उनले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउनुपर्ने बताए । लामिछानेले अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दै अँध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गरिरहेको पौडेलको दाबी छ  ।

‘जित नारायण स्टन्टवाज हैनन्, यी अगाडि–पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन्, अँध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्। चितवनमा यसपालि जनताको समस्यालाई  ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔँ र सबक सिकाऔँ,’ उनले भने ।

गत निर्वाचनमा चितवनमा गठबन्धनका उम्मेदवार हारेर क्षमताहीनहरू निर्वाचित भएको उनको भनाइ छ । ‘जनमतको कदर गर्नुपर्छ तर गएको निर्वाचनमा चितवनमा गठबन्धनले उठाएका उम्मेदवारहरू डा. सूर्यकान्त घिमिरे, डा. भोजराज अधिकारी, डा. विश्व पौडेल (म आफैँ) हार्यौं,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पौडेलले भने, ‘उमेश श्रेष्ठ, जसले धेरैलाई रोजगारी दिनुभएको छ, उहाँले पनि हार्नुभयो। हामीले हार्दा कस्ताले जिते, जगजाहेर छ ।’

गाेजीमा नागरिकता नभएका रवि लामिछानेको देश बनाउने गफमा जनता भुलेको उनले बताए । ‘जसको गोजीमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले।  सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटङ्की ? पानी ओसार्ने नौटङ्की ? कोही स्थानीयले सिइओको जागिर पाए ? एयरपोर्ट गएर कसैलाई ल्याइयो ?,’ पौडेलको प्रश्न छ ।

चितवन – २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जितनारायण श्रेष्ठले स्थानीयको सुख दुःखमा साथ दिएको उनले बताए । ‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानीयको सुख दुःखमा साथ दिनुभयो। सबैलाई खुसी बनाउन खोज्नुभयो,’ उनले भने, ‘गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिदा उहाँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँ सजिलै उपलब्ध हुनुहुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित